काठमाडौं । दशैंमा गाडीको माग बढेको धेरैले अनुमान गरे । हुन पनि भयो त्यस्तै एउटै ग्राहकले दुई वा तीन कम्पनीको गाडी बुकिङ गरेको भेटियो । कारण थियो दशैंमा गाडी पाउन सकिन्छ वा सकिदैन भन्ने दुविधा । अहिले नेपालमा विशेष गरेर हुन्डाई क्रेटा, मारुती सुजुकी ब्रेजा, किया सोनेट, महिन्द्रा स्कर्पियो, निसान म्याग्नाइट, रेनो काइगर, नेक्सन इभी, इजेडएस जस्ता मोडल किन्न चाहने ग्राहकले एकपछि अर्को गाडी बुकिङ गरेको देखियो ।
विश्वव्यापी सेमी कन्डक्टरको समस्याले गाडी उत्पादकले आफ्नो उत्पादन कटौती गर्न बाध्य भए, जसको असर नेपाली बजारमा पनि देखियो । भारतमा कम्पनीहरुले आफ्नो उत्पादन लगभग ४० प्रतिशतले कटौती गरेका कारण नेपालमा आयात हुने गाडीको संख्यामा पनि निकै समस्या देखियो ।
भारतमा पनि सर्वाधिक गाडी विक्री हुने समय दिपावलीको छेउछाउ नै हो । धेरै गाडी विक्री गर्ने समयमा नै उत्पादन कटौती भएसँगै एउटै ग्राहकले ३ देखि ५ कम्पनीका गाडी बुकिङ गरेर बसेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । यसका साथै, महिन्द्राले पहिलो पटक आफ्नो एक्सयूभी ७०० को विक्रीमा ‘फ्यास सेल’ विधि अपनाएको देखियो । जसको परिणाम कम्पनीले निकै सुखद पायो । विक्री खुल्ला भएको २ घन्टामा नै ५० हजार यूनिट एक्सयूभी ७०० बुकिङ भएको थियो ।

पछिल्लो रिपोर्ट अनुसार भारतमा महिन्द्रा थार सन् २०२२ को पुरै वर्षको लागि बुकिङ रहेको छ भने, हुन्डाई क्रेटाको बुकिङ अबको ९ महिनाको लागि रहेको जनाइएको छ । अघिल्लो महिना सार्वजनिक भएको फक्सवागन टाइगुनको बुकिङ समेत १६ हजार यूनिट रहेको कम्पनीको भनाई छ । महिन्द्राको नयाँ एक्सयूभी ३०० को बुकिङ पनि ५० हजार यूनिट पुरा भएको छ ।
यी गाडी मध्ये नयाँ जेनेरेशन महिन्द्रा थार नेपाल आउन सकेको छैन भने, एक्सयूभी ७०० नेपाल आउने क्रममा रहेको छ । क्रेटा नेपालमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी हो भने टाइगुन दशैंअघि मात्रै नेपाल आएको मोडल हो । भारतीय बजारमा रहेको उच्च माग र उत्पादनमा कटौतीको कारण यी गाडीको सप्लाई समस्या जारी रहने सहजै अनुमान लगाउन सकिन्छ ।

बजारमा उच्चमाग रहेका महिन्द्रा र हुन्डाईका गाडी किन्न चाहने ग्राहकलाई नेपालमा पनि समस्या देखिएको छ । सप्लाई समस्याले दुबै कम्पनीलाई दबाब दिएको छ । यी दुबै कम्पनी नेपालमा राम्रो संख्यामा गाडी विक्री गर्ने कम्पनी हुन् । महिन्द्रा स्कर्पियो विगत दुई वर्षदेखि नै माग अनुसार सप्लाई हुन सकिरहेको छैन भने, हुन्डाईले नयाँ जेनेरेशन क्रेटा ल्याएदेखि नै राम्रो विक्री पाइरहेको छ । नेपालमा यी दुबै गाडी राम्रो बुकिङ भएका गाडी हुन् ।

