मोटरसाइकल टुरिङ : यात्रामा निस्कनु अघि यी ६ कुरा ध्यान दिऔं

काठमाडौं । पछिल्लो समय नेपालमा मोटरसाइकल टुरिङ कलचर विकास हुँदै गएको छ । एड्भेन्चर टुर मन पराउनेहरु मोटरसाइकलमै तराईदेखि हिमालसम्मका गन्तव्यमा यात्रा गर्न थालेका छन् ।

अहिले मोटरसाइकल टुरिङ युवादेखि अनुभवी राइडरसम्म सबैको रोजाइन बन्न थालेको देखिन्छ । दुईपाँग्रे सवारीमा लामो दूरी पार गर्दै नयाँ ठाउँ, नयाँ दृश्य र नयाँ अनुभव लिनु आफैंमा विशेष हुन्छ ।

तर, सफल र सुरक्षित लामो बाइक टुरका लागि केवल मोटरसाइकल स्टार्ट गरेर निस्किनु मात्रै पर्याप्त हुँदैन । राम्रो योजना, उपयुक्त गियर, स्मार्ट प्याकिङ र बाइकको तयारी अनिवार्य रूपमा हुनुपर्छ ।

राइड सुरू गरेपछि यात्रालाई सहज, सुरक्षित र स्मरणीय बनाउन राइडको पूर्व तयारी कस्तो र कसरी गर्ने भन्ने हामीले यहाँ चर्चा गरेका छौं ।

पूर्व योजना बनाउने

राम्रो योजना बिना टुर सुरू गर्नु जोखिमपूर्ण हुन सक्छ । मौसम परिवर्तन, खराब सडक अवस्था, इन्धन अभाव वा नेटवर्क समस्या जस्ता चुनौतीहरू सामना गर्न पहिल्यै तयारी आवश्यक हुन्छ ।

यसमा रुट, पेट्रोल पम्प, विश्राम स्थल र राति बस्ने ठाउँहरू पहिल्यै तय गर्दा यात्रा धेरै सहज हुन्छ । आफ्नो मोबाइलमा अफलाइन म्याप डाउनलोड गर्नु पनि उपयोगी हुन्छ ।

उपयुक्त मोटरसाइकल

टुरिङका लागि महँगो वा ठूलो मोटरसाइकल नै चाहिन्छ भन्ने छैन । स्कुटर, कम्प्युटर बाइक वा एड्भेन्चर बाइक लगायत साना क्षमताका जुनसुकै साधनमा पनि यात्रा गर्न सकिन्छ । यदि तपाईं त्यसमा सहज हुनुहुन्छ भने ।

कम क्षमताको मोटरसाइकलले ढिलो तर रमाइलो यात्रा दिन्छ भने शक्तिशाली मोटरसाइकलले लामो दूरी छिटो कभर गर्न सहयोग गर्छ । मुख्य कुरा, राइडिङमा आराम र नियन्त्रण हो । पूर्व तयारीका साथ हिडेपछि साधन जस्तोसुकै भए पनि डेस्टिनेसनमा अवश्य पुगिन्छ ।

उपयुक्त गियर प्रयोग

मोटरसाइकलमा लामो यात्रा गर्नु छ भने सुरक्षा गियरलाई कहिल्यै वेवास्ता गर्नु हुँदैन । राम्रो फिट हुने फुलफेस हेल्मेट, राइडिङ ज्याकेट प्यान्ट, ग्लोभ्स र बुट जस्ता आर्मरयुक्त सुरक्षा कपडा नै प्रयोग गर्नु पर्छ ।

दैनिक दूरी तय

लामो दूरीले शारीरिक र मानसिक रूपमै थकाउने काम गर्छ । त्यसैले एकै दिन धेरै दूरी कभर गर्ने प्रयास नगर्नु राम्रो हुन्छ ।

हरेक दिन १५० देखि २०० किलोमिटर यात्रामा रोकिनु पर्छ । यसमा पनि रोडको अवस्था नराम्रो र धेरै अफरोड मात्रै छ भने यात्राको दुरी अझै कम गर्नु उचित हुन्छ । थकान महसुुस भए रोकिएर पानी पिउने र हल्का खाना खाने । थकान महसुस भए तुरुन्त रोकिनु नै सुरक्षित विकल्प हो। राति सकेसम्म यात्रा गर्दै नगर्ने ।

यात्रा अघि आफ्नो साधनको चेकजाँच अनिवार्य

राइड सुरू गर्नु अघि आफ्नो साधनको आधारभूत चेकअप गर्नु पहिलो अनिवार्य कुरा हो । मोटरसाइकलको टायर प्रेशर, चेन लुब्रिकेन्ट, ब्रेक प्याड, इन्जिन आयल, लाइट, ब्याट्री लगायतका सबै पार्टस चेक गर्ने र टुर अघि नै फुल सर्भिस गराउनु राम्रो हुन्छ ।

स्मार्ट प्याकिङ

ब्यागमा अति आवस्यक पर्ने सबै सामान मिलायर राख्नुनै स्मार्ट प्याकिङ हो । धेरै सामानले मोटरसाइकल भारी र असन्तुलित हुन्छ । त्यसैले सन्तुलन मिलायर मोटरसाइकलको पछाडि दुवै साइडमा राख्ने किसिमको वाटरप्रुफ ब्याग प्रयोग गर्नु पर्छ । ब्यागको दुवै साइड बराबर तौल र भारी सामान छ भने सुरूमै हाल्ने ।

लामो यात्रामा साना समस्या पनि ठूलो बन्न सक्छन्। त्यसैले, आफ्नो मोबाइल चार्ज गर्नका लागि पावर बैंक, नर्मल किसिमको मेडिसियन, समय अनुसारको कपडा, मोटरसाइकलको टुलकिट र पञ्चर रिपेयर किट जस्ता एकदमै आवस्यक पर्ने सामानहरु राख्नुपर्छ । आवस्यक बाहेकका अन्य सामान नलग्दै राम्रो ।

मोटरसाइकल टुरिङ गन्तव्यभन्दा पनि यात्राको अनुभव हो। सही तयारी, सुरक्षित राइडिङ बानी र उचित योजना अपनाएमा हरेक किलोमिटर अविस्मरणीय बन्न सक्छ ।


Back_to_top