गाडी बनाउन मोट्रेक्सको सर्तैसर्तः ७ वर्ष अरु आउन नहुनेदेखि गाडी आयात गर्नेसम्म

काठमाडौं । १० अर्ब ५४ करोड रुपैयाँ लगानी गरि कार एसेम्बल प्रस्ताव गरेको मोट्रेक्सले सर्त माथि सर्त तेर्स्याएको छ । कोरियाली कम्पनी मोट्रेक्सले आफूले लगानी गरेपछि ७ वर्षसम्म अन्य त्यस्तै कम्पनी खोल्न दिन नपाइने सर्त नेपाल सरकारसँग राखेको छ । अन्य कम्पनी आउने हो भने कम्तीमा ११ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उसको सर्त छ । 

अझ अनौठो कुरा त के भने गाडी एसेम्बल गरेर आफैं उत्पादन गर्ने कम्पनी मोट्रेक्सले विदेशबाट नेपालमा गाडी आयातसमेत गर्न पाउनु पर्ने सर्त राखेको छ । 

दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा सवारी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न १० अर्ब ५४ करोड रुपैयाँ प्रत्येक्ष वैदेशिक लगानी प्रस्ताव सरकारले स्वीकार गरेपछि यसले नेपाली बजारमा ठूलै तरङ्ग पैदा गरेको छ । तर कम्पनीले राखेका सर्तहरु देख्दा उक्त कम्पनी नेपालमा सवारी एसेम्बल गर्न नभई सवारी व्यापार गर्न आउन लागे जस्तो देखिन्छ । 

‘भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्ट निर्माण सम्पन्न भएको ७ वर्षसम्म यस्तै प्रकृतिको अन्य प्लान्टलाई अनुमति नदिने तथा ७ वर्षपछि पनि यस्तै प्रकृतिका १०० मिलियन अमेरिकी डलर भन्दा ठूला परियोजनालाई मात्र अनुमति दिनु पर्ने’ मोट्रेक्सले गरेको प्रस्तावमा उल्लेख छ । 

सरकारले मोट्रेक्सले गरेको प्रस्ताव स्वीकार गर्ने हो भने नेपालले लिएको खुल्ला बजारको नीतिको धज्जी उड्ने लगानी बोर्डका एक अधिकारीले बताए । कम्पनीले लगानीको प्रतिफल प्राप्त गर्न कम्तीमा ७ बर्ष लाग्ने भएकाले त्यो समयसम्म अन्य कम्पनी ल्याउन पाइदैन भन्नु सरासर गलत भएको ती अधिकारीको भनाइ छ । 

मोट्रेक्सले वार्षिक २० हजार गाडी उत्पादन गर्ने क्षमताको प्लान्ट लगाउने प्रस्ताव गरेको छ । कम्पनीले प्लान्ट स्थापना भएपछि पहिलो वर्ष २ हजार कार उत्पादन गर्ने भनेको छ । २०२१ को अन्त्यसम्मका कार उत्पादन थाल्ने योजना मोट्रेक्सले पेश गरेको छ । 


Back_to_top