काठमाडौं । एनआईसी एशिया बैंक र सिप्रदी ट्रेडिङ बीच फाइनान्सीयल पार्टनर बनेर काम गर्ने समझदारी पत्रमा सम्झौता भएको छ । सिप्रदी ट्रोडिङले टाटाका कर्मशियल तथा प्यासेन्जर गाडी बिक्री वितरण गर्दै आएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
टाटा ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङले फाइनान्सीयल पार्टनर बैंकको रुपमा एनआईसी एशिया बैंकसँग मिलेर काम गर्नेछ । टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा पाउने छन् ।
साथै, एनआइृसी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क तिरेर कर्जा लिन सक्ने छन् ।
यस बैंकले आवश्यक कागजात प्राप्त भएको ४८ घण्टा भित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको जनाएको छ । निजी प्रयोजनको लागि मूल्यको ५० प्रतिशत र व्यवसायिक प्रयोजनका लागि मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने दुई कम्पनी बीचको सम्झौंतामा उल्लेख छ । यो सुविधा नेपालभर लागुहुने जनाइएको छ ।
बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।
यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ समेत स्थापना गरेको छ ।
सवारी खरिद गर्न चाहनेले ३४४८८ मा ीयबल टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सक्ने छन् ।

