अनियमितता ठहर भए कारवाही भोग्न तयार छु, तर राजिनामा दिन्नः महाप्रबन्धक कंसाकार

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनैपनि अनियमितता नभएको दावी गरेका छन् । 

उनले आफुहरुले भ्रष्टचार गरेको ठहरीए कारबाही भोग्ने बताउँदै कुनैपनि हालतमा पदबाट राजीनामा नदिने समेत स्पस्ट पारे । 

रिपोर्टस क्लवले विहिवार राजधानीको भृकुटीमन्डपमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विमान खरिदमा एक रुपैयाँ पनि भ्रष्टचार नभएको बताएका हुन् । 

साक्षात्कार कार्यक्रममा बोल्दै महाप्रबन्धक कंसाकारले निगमले सबै प्रक्रिया पुरा गरि जहाज ल्याएको स्पस्ट पार्दै अनियमितता भएको भन्ने हल्ला बाहिर आएकोमा आफु अचम्मित भएको बताए । 

‘सर्वोच्च अदालतले २०७४ मंसिरमा नै सबै प्रक्रिया ठिक भएको बताइसकेको छ । नियम र ऐन कानुनमा बसेर जहाज खरिद गरेका हौ’ कंसाकारले भने । उनले अदालतको लिखित फैसला नै पढेर सुनाएका थिए ।

विमान खरिद प्रक्रियाबारे स्पस्टिकरण दिँदै उनले विमान खरिदका लागि गरिएको ग्लोबल टेन्डरमा सबैभन्दा राम्रो सामान दिने कम्पनीबाट कम मूल्यमा किन्न पाएकोमा हामी खुसी हुनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा उनले निगमले ‘ब्राण्ड–न्यू’ जहाज खरिद गरेको दावी गर्दै बिमानको भारबहन क्षमता २४२ टनको भए पनि एनएसीले ल्याएको २३० टन मात्रै रहेको स्विकार गरे ।

उनले यही किसिमको जहाज यही मूल्यमा वा यो भन्दा कम मूल्यमा ल्याउनसमेत चुनौति दिए । उनले विमान खरिद प्रक्रियामा आफुहरुको कुनै गल्ती नभएको दावी गरे । 

विमान खरिद प्रकरण के र कसको कारणले यति धेरै चर्चामा आएको भन्ने पत्रकारहरुको प्रश्नमा घुमाउरो शैलीमा उनले अन्य कारण नभई राजनीतिक कारण हुनसक्ने बताए । 

सिमित व्यक्तिहरुले आफुहरुलाई बदनाम गर्नकै निम्ति लागिपरेको समेत उनले गुनासो गरे । त्यस्तै उनले नेताहरुले यस विषयमा नबुझिकन टिप्पणी गरेको आरोप लगाए । 

त्यस्तै पर्यटनमन्त्रीमा रविन्द्र अधिकारी आएपछि जहाजको भुक्तानी बापत १६ अर्ब रुपैयाँ पठाएको उनले जानकारी दिए । उनले भने,‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम पठाएका हौं ।’


Back_to_top