उपत्यकामा बन्दै फ्लाइओभर र अन्डर पास

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन फ्लाइओभर र अन्डर पास निर्माण सुरु गर्न लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले उक्त कुराको जानकारी दिएका हुन् ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४४ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै मन्त्री नेम्वाङले सरकार पूर्वाधार निर्माणमा गम्भिर भएर लागेको बताएका थिए ।

‘सरकार यातायात क्षेत्रको विकास र विस्तारमा निकै संवेदनशिल छ । त्यसमा पनि उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि फ्लाईओभर र अन्डर पास निर्माण महत्वपूर्ण रहेकाले केहि दिन भित्र शिल्यानास गरेर काम सुरु गर्ने छौं’, मन्त्री नेम्वाङले भने ।

उनले कुन स्थानमा फ्लाईओभर निर्माण गर्ने भन्ने विषयमा नबताएपनि चावहिल र थापाथलिमा फ्लाईओभर निर्माण गर्न सरकारले धेरै वर्ष अघिदेखि अध्यन गरिरहेको थियो । त्यस्तै कोटोश्वर जडिबुटीमा अन्डरपास निर्माण गर्नु पर्ने अध्यन प्रतिवेदनले देखाएको थियो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले समग्र अटोमोवाइल क्षेत्रलाई सरकारले हेर्न नजर परिवर्तन गर्नु पर्ने बताउँदै भने, ‘सवारी साधन किन्न चाहनेलाई ५० प्रतिशतभन्दा बढी कर्जा प्रबाह गर्न नपाउने व्यवस्था हटाए मात्रै धेरै मानिसको पहुँचमा सवारी साधन पुग्ने छ ।’

कार्यक्रमका विशेष अतिथि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोविलिटी नबढेसम्म आर्थिक गतिविधि नबढ्ने बताउँदै सरकारले सडक जाम भयो भनेर गाडी आयात रोक्ने नभई पूर्वाधार वलियो बनाउनु पर्ने धारणा राखेका थिए ।


Back_to_top