नारायणीमा पुल बनाउन चीनबाट नयाँ प्रविधि ल्याइँदै

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी नदी माथि आधुनिक प्रविधियुक्त ‘केबल स्टेड’ पुल निर्माणले गति लिएको छ । नारायणगढ र गैँडाकोट जोड्ने ४२० मिटर लामो पुल निर्माणले तीव्रता पाएको हो ।

उक्त पुल निर्माणको ठेक्का पाएको तुदी कन्स्ट्रक्सन प्रालिले गत मंसिरदेखि फिल्डमा काम थालेको थियो । हाल पुल निर्माणको टेस्टिङ फेजका कामहरू भइरहेको छ ।

कम्पनीका स्ट्रक्चरल इन्जिनीयर सन्देश त्रिपाठीले टेस्टिङ फेजसँगै हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने तथा स्टिल केज निर्माणका काम भइरहेको जानकारी दिए ।

उनले प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्ष परीक्षण गर्दै काम अघि बढाइएको बताए ।

‘पुलको डिजाइन गर्दा नै विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरिएको हुन्छ । सो अनुसार फिल्डमा पनि परीक्षण गर्नुपर्छ । अहिले हामी चरणका काम भइरहेको छ,’ उनले भने, ‘सँगसँगै साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने, स्टिल केज निर्माण लगायत काम भइरहेको छ ।’

उनले पुलको ‘टेस्टिङ’का लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गर्न लागिएको जानकारी दिए । सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने उनले बताए ।

उनका अनुसार ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो। यस प्रविधि अन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी ‘कङ्क्रिटिङ’ गरिन्छ। कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ। यसबाट पाइलको वास्तविक भार वहन क्षमता थाहा हुन्छ ।

वर्षायाम सुरू हुन अगावै पुलको फाउन्डेसनको र पाइलिङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनीयर त्रिपाठीले बताए । पुलको डिजाइन अनुसार नदीमा दुई र दायाँबायाँ एक/एक गरी कुल चार पिलर रहने छन्।

उनले ‘ओसेल’ मेसिन आउने बित्तिकै नारायणगढतर्फ पाइलिङको काम सुरू गरिने बताए । एकातर्फ पाइलिङ गर्न करिब दुई महिना लाग्ने उनको भनाइ छ ।

यो पुलको ठेक्का १ अर्ब ६८ करोड रुपैयाँमा लगाइएको हो । यो पुल निर्माणको ठेक्का सम्झौता २०८० जेठ १९ गते भएको थियो । सम्झौता अनुसार पुलको डिजाइन २०८१ जेठमै सकी काम थाल्नु पर्नेमा गत असोजमा मात्रै डिजाइन स्वीकृति भएको थियो । नारायणीको नयाँ पुलको डिजाइन चिनियाँ प्रोफेसरको नेतृत्व टोलीले गरेको हो ।

नारायणी पुलको लम्बाइ ४२० मिटर रहेको छ । यसमा चारवटा पिलर रहने छन्, जसमा नदीको बीचमा दुई वटा र छेउछेउमा एकरएक वटा रहने छन् । छेउ र बीचको पिलर बीचको दुरी १०० मिटर र बीचका दुई पिलरको दुरी २२० मिटर रहने छ ।

यसको कुल चौडाइ १३.६ मिटर रहेको छ । जसमा ७.५ मिटर चौडाइमा दुई लेन गाडी गुड्ने छन् । त्यस्तै, ३ मिटर फूटपाथ र साइकल लेन रहने छ । बाँकी ३ मिटरमा सडक र फुटपाथ बीचको मिडियन, पुलको लठ्ठा लगायत भाग रहने छ । यो पुलको आयु १०० बढी वर्ष रहेको छ ।

यो केबल स्टेड प्रविधिमा बन्ने नेपालकै दोस्रो पुल हो । यसअघि कर्णाली नदीमा नेपालकै पहिलो केबल स्टेड पुल बनेको थियो । पुललाई आकर्षक बनाउन रातको समयमा बाल्न मिल्ने गरी बत्तिहरू समेत जडान गरिने छ । जसले पुलको सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ ।


Back_to_top