काठमाडौं । नेपालकै पहिलो मोटरसाइकल म्यूजियम खुल्ला भएको छ । ‘एसजे मोटो’ नामबाट खुलेको मोटरसाइकल म्यूजियममा नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्ला दिनमा विश्व बजारमा चर्चा कमाएका मोटरसाइकलसम्म राखिएको छ ।
यसलाई मोटरसाइकल व्यवसायमा संग्लग्न व्यवसायी शौरभ ज्योतिले संचालनमा ल्याएका हुन् । स्याकार ट्रेडिङका चेयरम्यन समेत रहेको शौरभ ज्योति नेपाली मोटरसाइकल प्रेमिहरु बीच परिचित नाम हो ।
एसजे मोटो ग्यालरीको उद्घाटन गर्दै ज्योतिले भने, ‘मेरो सपना थियो, नेपालमा एउटा मोटरसाइकल म्यूजियम खोल्ने । त्यसलाई सबै साथी, परिवार र शुभचिन्तकको मायाले पुरा गर्न सक्ने छ ।
विगतमा आफ्ना धेरै साथी र मोटरसाइकलप्रेमीहरुले तपाईको घरमा लगेर एकपटक तपाईसँग भएका मोटरसाइकल देखाउनुस् भन्ने गरेका सम्झदै ज्योतिले भने, ‘अब कसैले पनि मोटरसाइकल हेर्नबाट बन्चित हुनु पर्ने छैन ।’

आफ्नै उत्पादनसँग जोड्न म्यूजियममा नै कफि शपसमेत संचालन गरेको जानकारी दिदै ज्योतिले भने, ‘मेरो हजुरबुबाले हरेका काममा आफ्नो उत्पादन हुनु पर्छ भन्ने गर्नु हुन्थ्यो । मोटरसाइकल बाहिर उत्पादन भएको भएपनि हामीले आफ्नै नेपालको उत्पादन कफीलाई यहाँ जोडेका छौं ।’
मोटरसाइकल म्यूजियम विश्वमा नै निकै चासो र चर्चा हुने विषय हो । एसजे मोटोमा पनि विभिन्न ब्राण्डका पुराना र नयाँ मोटरसाइकल राखिएको छ । कसैले आफुसँग भएको पुरानो मोटरसाइकल म्यूजियमा राख्न चाहे नाम लेखेरै राख्न सकिने ज्योति बताउँछन् ।


