काठमाडौं । चीनको होजोन अटोको इलेक्ट्रीक भेहिकल ब्राण्ड नेटाले विश्व बजारमा उपस्थिति बढाउँदै लगेको छ । यसैक्रममा कम्पनीले दक्षिण अमेरिकी महादेशमा पनि आफ्नो व्यापार सुरू गरेको छ ।
कम्पनीले कोस्टारिकामा नेटा भीको बिक्री सुरु गरेको हो । कम्पनीले त्यहाँ सेल्स एण्ड सर्भिस आउटलेट स्थपना गरी बजार विस्तार गरेको हो ।
कम्पनीले सन् २०२४ सम्ममा विश्वका ५० देशमा ५०० वटा सेल्स एण्ड सर्भिस आउटलेट स्थपना गर्ने योजना बनाएको छ । कम्पनीले आगामी वर्षसम्ममा वार्षिक १ लाख यूनिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ ।
नेटाले सन् २०२१ को सेप्टेम्बरबाटै आसियान देशहरूमा बिक्री सेन्टरहरू स्थापना गरिसकेको छ । होजोनले यसै वर्षको मार्च १० मा थाइल्याण्डको बैंककमा नयाँ प्लान्टका शिलान्यास गरिसकेको छ । उक्त प्लान्टको उत्पादन क्षमता वार्षिक २० हजार यूनिट रहेको र आगामी जनवरीबाटै उत्पादन सुरू हुने बताइएको छ ।
होजोन अटोले ओभरशिज मार्केटमा नेटा भी मात्र बिक्री गरिरहेकोमा गत अक्टुवरबाट नेटा यू समेत टर्कीमा निर्यात गरेको छ । नेटाले अन्तर्राट्रिय बजारका लागि सेडान, एसयूभी तथा टुरिङ भर्सनसहित ७ वटा मोडल उत्पादन गर्ने योजना बनाएको छ ।
नेटाले हाल चिनियाँ बजारमा नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ । यो वर्षको जनवरीदेखि अक्टोबरसम्म नेटाका १ लाख ९ हजार ८५५ वटा ईभी डेलिभरी भइसकेको छ ।
नेपाली बजारका लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले नेपालमा पनि नेटा यू क्रसओभर एसयूभीको बुकिङ लिइरहेको छ ।


