काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडल ल्याउँदै छ । अहिले विक्री भइरहेको ब्रेजाको तुलनामा महंगो पर्ने ब्रेजा माघको दोस्रो हप्ताबाट नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको छ ।
अहिले विक्री भइरहेको ब्रेजाको तुलना नयाँ जेनेरेशन ब्रेजा निकै महंगो पर्ने अनुमान गर्न सकिन्छ । अहिले विक्री भइरहेको टप भेरियन्टको मूल्य ४९ लाख हाराहारी छ भने नयाँ जेनेरेशन ब्रेजाको टप भेरियन्ट किन्नेले ५९ लाख हाराहारी तिर्नु पर्ने हुन्छ । त्यसैले कम मूल्यको ब्रेजा किन्न चाहनेको लागि धेरै समय बाँकी छैन ।
अहिले सिजी मोटोकर्पले विभिन्न तीन भेरियन्टमा ब्रेजा विक्री गर्दै आएको छ । नयाँ जेनेरेशन ब्रेजा कति भेरियन्टमा नेपाल आउँदै छ भन्ने एकिन भएको छैन । अहिलेको सबैभन्दा सस्तो भेरियन्ट भिएक्सआईको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । त्यसपछि जेडएक्सआई प्लसको ४८ लाख ९९ हजार र जेडएक्सआई प्लस ड्यूल टोनको मूल्य ४९ लाख २९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरिरहेको छ ।
‘रेगुलर मोडल ब्रेजा आधिकारीक विक्रेतासँग सकिएको छ । तर, स्थानिय डिलरहरुसँग केही यूनिट ब्रेजा बाँकी रहेको हुन सक्छ । त्यसको एकिन तथ्यांक निकालिएको छैन’, सिजी मोटोकर्प स्रोतले मेरोअटोसँग भन्यो ।

सन् २०२० मा पहिलो पटक पेट्रोल इन्जिनमा आएको ब्रेजाले नेपालमा निकै राम्रो बजार पाउन सफल भएको थियो । मूल्यका हिसावले राम्रो र १.५ लिटर क्षमताको इन्जिन भएको सब फोर मिटर एसयूभी भएकै कारण यसले बजारमा राम्रो सफलता पाएको थियो ।
नयाँ ब्रेजामा पनि यसको बल्की डिजाइनलाई निरन्तरता दिइएको छ भने इन्जिन पनि त्यही निरन्तर छ । तर, आधुनिक फिचर लोडेड नयाँ ब्रेजामा सनरुफ पनि पाउन सकिन्छ । सुरक्षाको हिसावले पनि नयाँ ब्रेजा पहिलेको तुलनामा उत्कृष्ट रहेको छ ।


