काठमाडौं । चिनजानको मानिस वा रिकन्डिसन हाउसबाट मोटरसाइकल किन्ने ग्राहकको संख्या बढ्दो । उपत्यका लगायत देशभर अहिले एक ब्यक्तिबाट अर्को ब्यक्तिमा मोटरसाइकलको कारोबार सबैभन्दा धेरै हुन्छ ।
रिकन्डिसन हाउसहरु पनि देशका विभिन्न कुनामा खुल्न थालेका छन् । त्यसैले धेरै मानिसले रिकन्निडसन हाउसबाट पनि आफुलाई आवश्यक गर्ने मोटरसाइकल खरिद गर्ने गरेको पाइन्छ । तर, रिकन्डिसन हाउस वा चिनजानको मानिसबाट मोटरसाइकल किन्दा त्यसको राम्रो निरिक्षण गर्ने चलन हामी कसैमा पनि छैन ।
सेकेन्नड ह्याण्ड मोटरसाइकल खरिद गर्दा रिकन्डिसन हाउस वा चिनेजानेको व्यक्ति जोसँग किने पनि बाहिरी आवरणलाई मात्र हेरेर मात्रै खरिद गर्नु हुँदैन । त्यसैले तपाई पनि रिकन्डिसनमा मोटरसायकल किन्ने योजना बनाउँदै हुनुहुन्छ भने निम्न ४ कुरा बुझेर मात्र किन्दा ठगिने अवस्था आउँदैन ।
१. ह्यान्डलको अवस्था
कुनै पनि मोटरसाइकल तथा स्कुटर दुर्घटनामा पर्दा पहिला ठोक्किने पाट्र्स भनेको ह्यान्डल हो । ह्यान्डलको अवस्थाले पनि मोटरसाइकल तथा स्कुटरको अवस्था पहिचान गर्न मद्दत पुग्छ ।

ह्यान्डलको अवस्था सामान्य छ भने मोटरसाइकलको अवस्था ठिक हुन सक्छ । वा, भनौ मोटरसाइकल ठूलो दुर्घटनामा परेको छैन भन्ने देखाउँछ । अधिकांश दुर्घटनामा परेका मोटरसाइकल वा स्कुटरको ह्यान्डल बाङ्गो भएको हुन्छ । यस्तो मोटरसाइकल चलाउँदा मोटरसाइकलले एकतर्फ तानेको महसुश हुन्छ । त्यहि कारण बाटोमा मोटरसाइकल ह्यान्डलिङ गर्नसमेत असहज महसुश हुन्छ ।
२. टायर
कतिपय अवस्थामा मोटरसाइकल वा स्कुटरको कन्सोलमा कम किलोमिटर चलेको देखाएता पनि मिटरलाई बन्द गराएर चलाएको हुन सक्छ । यदि कसैले मेरो मोटरसाइकल किनेको समय धेरै भएको छैन । र किलोमिटर पनि धेरै चलेको छैन भन्यो भने त्यतिबेला मोटरसाइकलमा रहेको टायर र त्यसको ग्रिप हेरेर एकिन गर्न सकिन्छ ।

कम किलोमिटर मात्र चलेको मोटरसाइकलको ह्वीलमा राम्रो ग्रिप रहेको हुन्छ । र मोटरसाइकलमा आउने टायर हो वा होइन भनेर पनि राम्रोसँग पहिचान गर्नु पर्ने हुन्छ । कहिले कहि विक्रेताले टायर परिवर्तन गरेको पनि हुन सक्छ ।
३.वेल्डिङ
मोटरसाइकल वा स्कुटर दुर्घटनामा परेर क्षति भएको छ भने त्यसमा वेल्डिङ गरेर बनाइएको हुन सक्छ । यस्तोमा मोटरसाइकल ह्यान्डल, लुकिङ ग्लास, फुटपेज, सारिगार्ड, साइलेन्सर, ब्रेक लिभर, गियर लिभर, ग्य्रावरेल जस्ता पाट्र्समा ध्यान दिएर हेर्नु पर्ने हुन्छ । यसका साथै फ्रन्ट सस्पेन्सन, ह्यान्डलको टी पार्ट र इन्जिनको नजिक कुनै क्षति पुगे नपुगेको ध्यान दिनु उपयुक्त हुन्छ ।
४. इन्जिन
इन्जिनको अवस्था थाहा पाउने उत्तम तरिका भनेको इन्जिन चिसो अवस्थामा रहेको बेला हो । इन्जिन तातो भएको बेला इन्जिनको अवस्था कस्तो छ भनेर पत्ता लगाउन गाह्रो हुनसक्छ । त्यसैले इन्जिन चिसो भएको बेला इन्जिन स्टार्ट गरेर हेर्नु पर्छ ।
यदि इन्जिनमा समस्या छ भने चिसोको समयमा मोटरसाइकल स्टार्ट गर्न कठिन हुन्छ । चिसो अवस्थामा समेत इन्जिन सजिलै स्टार्ट भएको खण्डमा इन्जिनमा खराबी छैन भनेर अनुमान लगाउन सकिन्छ ।
यसका अलावा रिकन्डिसन मोटरसाइकल तथा स्कुटर खरिद गर्दा यसको क्लच, चेनस्पर्केट जस्ता पाट्र्सको समेत ध्यान दिएर किन्दा राम्रो मोटरसाइकल पाउन सकिन्छ ।

