काठमाडौं । दक्षिण कोरियाको ‘एन्टिट्रस्ट रेगुलेटर’ले टेस्ला इंकलाई २.२ मिलियन डलर जरिवाना गरेको छ । टेस्लाले आफ्ना ग्राहकललाई कारको बारेमा उचित जानकारी दिन नसकेको भन्दै कारवाही गरेको हो ।
‘कोरिया फेयर ट्रेड कमिसन’का अनुसार टेस्लाले आफ्ना सवारीसाधनको बारेमा अतिरन्जित प्रचार गरेको र चिसो मौसममा टेस्लाले कम रेन्ज दिने बारेमा ग्राहकलाई बुझाउन नसकेका कारण कारवाही गरिएको हो । संसारभर नै ईभीले चिसोमा कम रेन्ज दिने विषयमा अहिले बहस भइरहेको छ ।
टेस्लाले ग्राहकलाई भनेको तुलनामा उसका कारहरुले चिसो मौसममा ५० प्रतिशतसम्म कम रेन्ज दिएका कारण टेस्लालाई कारवाही गरिएको कोरिया ट्रेड फेयर कमिसनले एक विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
टेस्लाले आफ्नो वेवसाइटमा जाडोमा ड्राइभिङ गर्नका लागि ध्यान दिनु पर्ने टीप्सहरु प्रदान गराएको भएता पनि शून्य वा माइनस डिग्री तापक्रममा गाडी चलाउँद यसको रेन्ज कम हुने बारे उल्लेख गरेको छैन ।
सन् २०२१ मा दक्षिण कोरियाली उपभोक्ता समुह ‘सिटिजन्स यूनाइटेड फर कन्जुमर’ले धेरै जसो ईभी निर्माताका उत्पादनले चिसो मौसममा ४० प्रतिशतले रेन्ज घट्ने र ब्याट्री हिटिङमा समस्या भएको बताएका थिए ।
गत वर्ष कोरिया फेयर ट्रेड कमिसनले जर्मन कार उत्पादक कम्पनी मर्सिडिज बेन्जलाई २० विलियन वन जरिवाना गराएको थियो । जर्मन कार उत्पादकले पनि गलत प्रचार गरेको भन्दै कारवाही गरेको थियो ।

