काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखन्ड असारसम्ममा कालोपत्रे गर्ने नयाँ मिति तोकिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार यही असारसम्म पिच सम्पन्न गर्ने गरी काम भइरहेको हो ।
सो सडकखन्ड अन्तर्गतको ८ किलोमिटर हाराहारी सडकमा भने कालोपत्रे भइसकेको विभागका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए । साढे १२ किलोमिटर शो सडकखन्डमा अब ४ किलोमिटरमात्रै कालोपत्रे गर्न बाँकी रहेको र यही असार महिनासम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
४ ठेकेदार कम्पनीले ठेक्का पाएको उक्त सडकखन्डको योजना ४ खन्डनै छुट्याएर पिच गर्ने काम भइरहेको छ ।
१ अर्ब ६४ करोड ५० लाख ८६ हजार रुपैयाँ लगानीमा निर्माण हुँदै गरेको सो सडकखन्डमा हालसम्म १ अर्ब ४ करोड ५५ लाख ६४ हजार रुपैयाँ खर्च भइसकेको श्रेष्ठले जानकारी दिए ।
‘काम तिब्र गतिमा भइरहेको छ, असारभित्र यो खन्डमा हामी पिच गरिसक्ने छौँ,’ श्रेष्ठले मेरोअटोसँग भने ।
२०७२ साल असार ३१ गते सुरु भएको सो सडक निर्माण २०७५ साल कार्तिक ३० गतेसम्म सम्पन्न गर्ते लक्ष्य विभागले राखेको थियो ।
निर्धारित समयमा काम नसकिएपछि सो सडकखन्डको सम्झौता म्याद थप गर्ने प्रकृयामा रहेको उनले जानकारी दिए ।
उक्त सडकखन्ड निर्माणको काम स्थानिय वासिन्दाको जग्गासहितको क्षतीपुर्ती माग, सर्वोच्च अदालतबाट आएको स्टे अडरका कारण लामो समय रोकिएकाले समयमै काम सक्न असम्भव भएको श्रेष्ठले बताए ।


