यी हुन् फेब्रुअरीमा सार्वजनिक हुने नयाँ कार र एसयूभी

काठमाडौं । आगामी फेब्रुअरी ६ तारिखबाट भारतको उत्तर प्रदेशको नोयोडामा हुने अटो एक्स्पो २०२० मा थुप्रै नयाँ मोडल सार्वजनिक हुने भएको छ । उक्त अटो एक्स्पोमा मारुती सुजुकी, हुन्डाई, रेनो, टाटा, महिन्द्रा, ग्रेटवाल मोटर्स, एमजी, फक्सवागन लगायतका ब्राण्डले नयाँ कार तथा एसयूभी सार्वजनिक गर्ने भएका छन् ।

१. मारुती सुजुकी भिटारा ब्रेजाः

आगामी अटो एक्स्पोमा मारुती सुजुकीले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी भिटारा ब्रेजाको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ब्रेजालाई पेट्रोल इन्जिनमा ल्याउने भएको हो । यसअघि ब्रेजा डिजेल इन्जिनमा मात्र उपलब्ध रहेको थियो । यसको साथै कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘फ्युचर–ई’ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

२. अल न्यू हुन्डाई क्रेटाः

हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडल क्रेटाको नयाँ जेनेरेशन मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउने उक्त मोडलमा धेरै परिमार्जन गर्ने अनुमान गरिएको छ । यसका अलावा कम्पनीले माइक्रो एसयूभी पनि सार्वजनिक गर्न सक्ने जनाइएको छ ।

३. अल न्यू महिन्द्रा केयूभी १०० इलेक्ट्रीकः

महिन्द्रा एण्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारको नयाँ जेनेरेशन मोडल अटोएक्स्पोमा सार्वजनिक गर्ने भएको छ । यसका अलावा कम्पनीले अल न्यू स्कर्पियो र केयूभी १०० र एक्सयूभी ३०० को इलेक्ट्री मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

४. एमजी हेक्टर प्लसः

बेलायती मोटर कम्पनी एमजीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी हेक्टरपछि दोस्रो एसयूभी हेक्टर प्लसलाई अटो एक्स्पोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । ६ सिट क्षमतामा आउने हेक्टर प्लस १.५ लिटर पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।

५. टाटा ग्राभिटासः

भारतीय गाडी उत्पादक कम्पनी टाटाले अटो शोमा आफ्नो नयाँ एसयूभी ग्राभिटास सार्वजनिक गर्ने अनुमान गरिएको छ । ग्राभिटास टाटा ह्यारीयर (नेपालमा एच५ को नामले बिक्री भइरहेको मोडल) कै प्ल्याटफर्ममा बनाइएको ७ सिटर एसयूभी हो ।

यसका अलावा टाटाले आफ्नो माइक्रो एसयूभी हर्नविल पनि शोकेस गर्ने बताइएको छ । साथै कम्पनीले टाटा नेक्सन फेसलिफ्ट पनि अटो एक्स्पोमा देखाउने छ ।

६. स्कोडा कारोकः

स्कोडाले कारोक एसयूभीलाई अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १.५ लिटर टर्बो इन्जिनमा आउने कारोक अटो एक्स्पोको आकर्षण हुने जनाइएको छ ।

७. फक्सवागन भिजन ‘इन’ :

फक्सवागनले भारतमा भिजन इन कन्सेप्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतीय बजारलाई हेरर तयार पारिएको भिजन इन अहिल्यैदेखि निकै चर्चामा रहेको छ । उक्त एसयूभीको कन्सेप्ट मात्र यस वर्षको अटो शोमा देख्न पाइने छ । साथमा फक्सवागन टि–रोक पनि अटो एक्स्पोमा सार्वजनिक हुनेछ ।

८. रेनो कम्प्याक्ट एसयूभीः

रेनोले आफ्नो आउँदै गरेको कम्प्याक्ट एसयूभी अटो एक्स्पोमा सार्वजनिक गर्ने संभावना रहेको छ । अहिले सडक परिक्षणमा रहेको यो मोडल सब फोर मिटर एसयूभी हो ।

९. ग्रेटवाल मोटर्सः

ग्रेटवाल मोटर्सले भारतमा हेभल ब्राण्ड नेमबाट तीन नयाँ एसयूभीलाई अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ ।


Back_to_top