काठमाडौं । दशैं लागेसँगै दुईपाँग्रे बजारमा ग्राहकको घुइँचो लागेको छ । यसअघि बुकिङ गरेका र नयाँ खरिद गर्ने ग्राहकको भीड लागेको हो ।
आइतबार दशैंको पहिलो दिन घटस्थापनको अवसरमा नयाँ सवारी किन्ने धेरै हुँदा शोरुमहरूमा भीड लागेको हो । अधिकांश मुख्य ब्राण्डका शोरुममा ग्राहकको घुइँचो छ ।

‘अटोहब’ भनेर चिनिने काठमाडौंका नक्साल, टेकु क्षेत्रका मोटरसाइकल शोरुममा बिहानैदेखि ग्राहकको बाक्लो उपस्थिति देखिन्छ । रोयल इनफिल्ड, ट्रायम्फ, यामाहा, टीभीएस, हिरो, होण्डा लगायत ब्राण्डको शोरुममा ग्राहकको घुइँचो छ ।

केही शोरुममा डेलिभरी लिने ग्राहकको लामो लाइन छ । घण्टौंसम्म कुर्नुपर्ने अवस्था छ । बिक्रेताहरूलाई पनि ग्राहकलाई मोटरसाइकल डेलिभरी दिन भ्याइनभ्याइ देखिन्छ ।

दशैं, तिहार लगायत चाडवाडलाई अटोबजारको मुख्य सिजन मानिन्छ । यो बेला वर्षभरीमा हुने बिक्रीको झण्डै एकचौथाई हाराहारी कारोबार हुने बिक्रेताहरू बताउँछन् ।
मोटरसाइकलसँगै हेल्मेट पसलहरूमा पनि ग्राहकको बाक्लो भीड लागेको छ ।




