एमजी-फोरले बहसमा ल्याएको ‘सेमी-सोलिड स्टेट ब्याट्री’, कसरी गर्छ काम ?

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो नयाँ गाडीमा सेमी-सोलिड स्टेट ब्याट्री प्रयोग गरेको जनाएको छ । कम्पनीले नयाँ एमजी-फोरमा उक्त ब्याट्री दिएको जानकारी बाहिर लयाएसँगै हाइब्रिड ब्याट्रीको चर्चा सुरू भएको हो ।

एमजी-फोरमा प्रयोग भएको सेमी-सोलिड स्टेट ब्याट्री ‘क्विङताओ इनर्जी’ले उत्पादन तथा विकास गरेको हो । यस्तो ब्याट्री प्रयोग गरेर ठूलो संख्यामा कार उत्पादन गर्ने एमजी पहिलो ब्राण्ड हो ।

एमजीले ल्याएको सेमी-सोलिड स्टेट ब्याट्रीका बारेमा धेरै कुरा बाहिर ल्याइएको छैन । कम्पनीले अहिलेसम्म ५३७ किलोमिटर रेन्ज  र  १८० वाटआवर प्रतिकेजी इनर्जी डेन्सिटी रहने जनाएको छ । यसको इनर्जी डेन्सिटीको रिपोर्टपछि भने नयाँ किसिमको बहस सुरू भएको छ ।

यहाँ हामीले सेमी-सोलिड स्टेट ब्याट्रीलाई के ले परिभाषित गर्छ ? एमजीले अन्यको तुलनामा यसलाई कसरी कार्यान्वयन गर्छ । र, नयाँ प्रविधिको ब्याट्री भएर पनि किन यसको इनर्जी डेन्सिटी परम्परागत ब्याट्रीकै हाराहारी मात्रै छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छौं ।

सेमी-सोलिड स्टेट ब्याट्री के हो ?

सेमी-सोलिड स्टेट ब्याट्रीहरूले जेल जस्तो वा अर्ध-ठोस इलेक्ट्रोलाइटहरू प्रयोग गरेर परम्परागत लिथियम आयोन सेलमा प्रयोग हुने तरल इलेक्ट्रोलाइटको मात्रा घटाउँछ । ठोस पनि होइन र पूर्ण तरल पनि होइन, त्यसैले यसलाई हाइब्रिड भनिएको हो ।

सेमी-सोलिड स्टेट ब्याट्रीहरू सुरक्षा र थर्मल स्टेबिलिटीका लागि राम्रो मानिन्छ । लिक्विड इलेक्ट्रोलाइटहरूको भन्दा उत्पादनमा  सरलता र आयोनको मोबिलिटी सहज हुने भएकोले यसलाई कम्पनीले प्रयोगमा ल्याएको हो ।

सेमी-सोलिड स्टेटको बारेमा ब्याट्री उद्योगमा कुनै सर्वमान्य परिभाषा छैन । मित्सुई एण्ड कम्पनी ग्लोबल स्ट्राटेजिक स्टडिज इन्स्टिच्युटका अनुसार लगभग १० प्रतिशतभन्दा कम लिक्विड इलेक्ट्रोलाइट भएका ब्याट्रीहरूलाई सामान्यतया सेमी-सोलिड स्टेट ब्याट्री मानिन्छ ।

यस्ता ब्याट्रीहरूले प्रायः परम्परागत लिक्विड लिथियम आयोन प्रयोग भएको ब्याट्रीहरूको तुलनामा सुरक्षामा सुधार, कम तापक्रममा पनि राम्रो कार्य गर्न सक्ने र स्ट्रक्चर इन्ट्रिग्रिटीलाई कायम राख्छ ।

एमजी ४ मा प्रयोग भएको ब्याट्रीको सन्दर्भ

एमजी-फोरमा प्रयोग भएको क्विङताओ इनर्जीले सप्लाई गरेको सेमी-सोलिड स्टेट ब्याट्रीमा केवल ५ प्रतिशत मात्र लिक्विड इलेक्ट्रोलाइट प्रयोग भएको छ ।  यसलाई माथिको परिभाषा अनुसार सेमी-सोलिड स्टेट ब्याट्रीको श्रेणीमा राख्न सकिन्छ ।

उक्त ब्याट्रीले ३६० डिग्री पंचर सेफ्टी टेस्ट पास गरेको छ । त्यस्तै यो ब्याट्रीले परम्परागत लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीहरूको तुलनामा माइनस ७ डिग्रीको तापक्रममा पनि १३.८५ प्रतिशत राम्रो रेन्ज दिन्छ ।

एमजी-फोरमा प्रयोग भएको ब्याट्रीप्याक ७० किलोवाट आवरको हो । यसको इनर्जी डेन्सिटी १८० वाटआवर प्रतिकेजी छ । सीएलटीसीका अनुसार यो कारले ५३७ किलोमिटरको रेन्ज दिन्छ ।

रेन्ज किन कम भयो ?

सेमी-सोलिड स्टेट ब्याट्रीहरूले हाइ इनर्जी डेन्सिटी र लामो रेन्ज दिने अनुमानको विपरीत एमजी-फोरले ठिकठाक मात्र रेन्ज दिने जानकारी बाहिर आएको छ । यसको इनर्जी डेन्सिटी चीनको बीवाइडी हान ईभीको १५५ किलोवाट आवर प्रतिकेजी र जिलीको ईएक्स-फाइभमा प्रयोग भएको १९२ किलोवाट आवर प्रतिकेजीको बीचमा १८३ वाटआवर प्रतिकेजी मात्रै छ ।

एमजीले ७० किलोवाट अवार ब्याट्रीप्याकको केमेस्ट्रीका बारेमा आधिकारिक जानकारी नदिए पनि इनर्जी डेन्सिटी हेर्दा लिथियम आयोन फस्फेट बेसको डिजाइन जस्तो देखिन्छ ।

यदि, एमजीले एलएफपी प्रयोग भएको हो भने यसले एमजी-फोरलाई चिसो मौसमको पफर्मेन्स सुधार गर्न, ब्याट्रीको लाइफ बढाउन, ड्राइभिङ रेन्ज सुधार गर्न र मूल्य ‘अफोडेबल’ बनाउनेछ ।

सेमी-सोलिड स्टेट टेक्नलोजीको मुख्य विशेषता इलेक्ट्रोलाइटको सुधार गरी ब्याट्रीप्याकको स्ट्रक्चर र सुरक्षा बढाउनु हो । यसले रेन्ज र इनर्जी डेन्सिटी बढाउने ग्यारेन्टी दिँदैन । ईभीको रेन्ज ब्याट्रीको केमेस्ट्री, भेहिकलको डिजाइन र ब्याट्रीप्याकको साइजले निर्धारण गर्छ ।


Back_to_top