काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो मोटरसाइकलको मूल्य बढाएको छ । कम्पनीले आज फेब्रुअरी १ बाट लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार केही मोडलको मूल्य वृद्धि गरेको छ भने केही मोडलको मूल्य यथावत राखेको छ । कम्पनीले प्लाटीना इएस १००, डिस्कभर १२५ ड्रम, एभेन्जर १६०/२२०, पल्सर १५० र डोमिनार ४०० को मूल्य यथावत राखेको हो ।
बजाजले सबैभन्दा धेरै मूल्य पल्सर एनएस १६० मा गरेको छ । कम्पनीले यसमा ५ हजार रुपैयाँले मूल्य बढाउँदा अन्य मोडलमा २ देखि ३ हजार रुपैयाँले मूल्य बढाएको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य
बजाजले विक्री गर्ने प्लाटीना १०० ईसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी, डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १६ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९०० रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी बजाज एभेन्जर २२० क्रुजरको मूल्य ३ लाख ६६ हजार ९०० रुपैयाँ र एभेन्जर १६० स्ट्रीटको मूल्य ३ लाख ४५ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, पल्सर सिरिजमा पल्सर २२० एफको मूल्य ३ लाख ६४ हजार ९००, पल्सर एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ९५ हजार ९०० रुपैयाँ, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ, पल्सर एनएस २०० को मूल्य ३ लाख २९ हजार ९०० र पल्सर एनएस १६० को मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ भएको छ ।
पल्सर सिरिजमा सर्वाधिक विक्री हुने पल्सर १५० टीडीको मूल्य २ लाख ९२ हजार ९०० रुपैयाँ र पल्सर १५० को मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको । यस्तै पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ भएको छ ।

