भन्सार र अन्तःशुल्क बढेसँगै हुन्डाई आयोनीक-५को मूल्य बढ्यो

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो प्रिमियम क्रसओभर इलेक्ट्रीक कार आयोनीक ५ को नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसअघि ८० लाख ९६ हजार रूपैयाँमा विक्री गर्दै आएको भिजन रुफ मोडलको मूल्य बढेर १ करोड १६ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो ।

हुन्डाईले आफ्नो ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको पहिलो मोडल आयोनीक-५ लाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिनेगरी तयार गरेको छ । १८ मिनेटमा ८० प्रतिशत चार्ज गर्न भने ३५० किलोवाट क्षमताको फास्ट डीसी चार्जर चाहिँछ ।

नेपालमा विक्री हुँदै आएको आयोनीक-५ मा १२५ किलोवाट क्षमताको मोटर र ५८ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटले १०० देखि २०० किलोवाट क्षमताको मोटर भएका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाएको कारण यसको मूल्य करिब ३६ लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ । यसअघि आयोनीक ५ मा १५ प्रतिशत भन्सार मात्रै लाग्दै आएको थियो ।

भविष्य उन्मुख डिजाइनमा तयार भएको यो क्रसओभरमा आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मुख्य विशेषता हो । हुन्डाईले यसमा ३००० एमएमको लामो ह्वीलवेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी रहेको छ ।


Back_to_top