टीभीएसले अपाचे आरआर-३१० मोटरसाइकलाई स्ट्यान्डर्ड स्लिपर क्लच संगै नयाँ फ्यान्टम ब्लाक कलरमा सार्वजनिक गरेको छ । नयाँ अपाचे आरआर ३१० को पहिलो ग्राहक भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी बनेका छन् ।
नयाँ स्वरुपमा सार्वजनिक भएको यस मोडलको मूल्य २ लाख २७ हजार भारु निर्धारण गरिएको छ । यो मोटरसाइकल बीएमडब्लू मोटरार्डको इन्जिनियरिङ र टीभीएसको आइडियामा निर्माण भएको हो ।
कम्पनीले आरआर–३१० २०१७ को अन्त्यमा भारतीय बजारमा ल्याएको थियो । आकर्षक डिजाइन र स्पोर्टी लुकमा निर्माण भएको यो मोटरसाइकल नेपाली बजारमा समेत बिक्री बितरण भैरहेको छ ।
नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले गत नाडा अटो शोमा भित्र्याएको यो मोटरसाइकलको मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
टीभीएस अपाचे आरआर ३१० मा ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले ३४ पीएस २९७०० आरपीएम र २७.३ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ ।


