एनजीएमले अब इलेक्ट्रीक दुई पाङ्ग्रे बिक्री गर्ने, नेपाल ल्याउँदै नयाँ ब्राण्ड

काठमाडौं । ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले इलेक्ट्रीक स्कुटर ल्याउने तयारी थालेको छ । यसअघि हिरो मोटरसाइकल विक्री गर्दै आएको एनजीएमले विद्युतीय दुई पाङ्ग्रे साधन ल्याउने भएको हो ।

भारतीय मोटरसाइकल उत्पादक हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङ बीच रहेको ३० वर्ष पुरानो सम्वन्धमा समस्या आएपछि ज्योति समुहले हिरोको डिलरशिप नविकरण गर्न सकेको छैन ।

हिरो मोटोकर्पले ज्योति समुहले सोचोजस्तो बिक्री तथा बिक्रपछिको सेवा दिन नसकेको भन्दै डिलरशिप नविकरण नगर्ने निर्णय गरेको थियो । नेपालमा हिरो मोटोकर्प विरुद्धको मुद्धाका कारण हिरोको नेपालमा भविष्य समेत अन्योल देखिएको छ ।

यसबीच हिरो मोटरसाइकलको डिलरशिपका लागि नेपालमा ठूला व्यवसायीक घराना लागि परेको भनिएतापनि डिलरशिप सीजी ग्रुपले पाइसकेको चर्चा चल्दै आएको छ ।

हिरो मोटरसाइकलको भविष्य अन्योल भएसँगै ज्योति समुहले इलेक्ट्रीक स्कुटर नेपाल ल्याउन लागेको हो ।

कम्पनी स्रोतका अनुसार अबको १० दिन भित्रमा नै हिरोले इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अहिले भारतीय टीम नै नेपाल आएर बजार सर्वेक्षण गरिरहेको र अबको केहिदिनमा नै नयाँ स्कुटर घोषणा हुनेछ ।

‘अहिल्यै कुन ब्रान्ड सार्वजनिक गरेका छैनौं । तर, केही दिनमा नै नयाँ ब्राण्डको घोषणा हुन्छ । आउने स्कुटर भने भारतमा उत्पादन हुन्छ’, कम्पनी स्रोतले भन्यो ।

हाम्रो अनुमानमा ज्योति समुहले भारतमा उत्पादन भएको एथर ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने छ । तर, एथरमा हिरो मोटोकर्प समेतको लगानी भएका कारण धेरैले ज्योति समूहले नपाउने अड्कल काट्दै आएका छन् ।


Back_to_top