काठमाडौं । सन् २०१९ जनवरीमा पहिलो पटक सार्वजनिक भएको कम्प्याक्ट एसयूभी निसान किक्स पछिल्लो समय बुकिङ बन्द भएर थन्किने अवस्थामा पुगेको छ ।
कम्पनीले सन् २०२० मा किक्सलाई नयाँ प्रदुषण मापदण्ड बिएस६ अनुसार अपग्रेड भएको थियो । तर, सन् २०२२को नोभेम्बरमा आइपुग्दा भारतभर निसान किक्स विक्री ३ युनिटमा मात्रै सिमित भएपछि किक्सको भविष्य अन्त्यतिर पुगेको हो ।
भारत जस्तो विश्वकै चौथो ठूलो कार बजारमा निसानले पछिल्ला तीन महिनामा एक यूनिट पनि कार विक्री गर्न सकेको छैन । यतिसम्म कि निसानले भारतमा रहेको आफ्नो नेटवर्क र अनलाईन दुबै प्लेटफर्मबाट किक्सको बुकिङ बन्द गरेको छ ।
निसानको आधिकारीक वेबसाइटमा किक्सको डिटेल अझै सुरक्षित रहेको छ । निसानले नेपाल लगायतका कोही एक्सपोर्ट मार्केटमा अझैपनि किक्स विक्री गर्दै आएको कारण बन्द भएको घोषणा भने गरेको छैन ।
निसान किक्स दुई इन्जिन अप्सनमा उपलब्ध कार हो । यसमा भएको १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम पिक टर्क प्रदान गर्छ । यो इन्जिनको साथमा ५ स्पीड म्यानुअल गियरबक्स छ ।
त्यसैगरी, यसमा १.३ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनसमेत रहेको छ । यो इन्जिनले १५६ पीएस पावर र २५४ पिक टर्क उत्पादन गर्छ । यो इन्जिनसँग ६ स्पीड म्यानुअल र सिभिटी गियरबक्स रहेको छ।
नेपालमा सफल भएको निसान किक्समा एलईडी प्रोजेक्टर हेडलाइट र टेल लाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिती सहितको ८ इन्चको टच इन्फोटेनमेन्ट स्क्रिम, कुल्ड ग्लोभबक्स, ईएससी लगायतका फिचर्स समावेश छन् ।
निसान इिन्डयाले यसअघि अन्य ३ मोडल निसान माइक्रा, सन्नी र टेरानो बन्द गरेको थियो । किक्सको पनि उत्पादन रोकेको निसानले अहिले एउटा मात्र मोडल म्यागनाइटको उत्पादन गरिरहेको छ ।
जापानको उत्कृष्ट अटोमोवाइल ब्राण्ड भएता पनि भारतीय बजारमा भने निसानको पर्फर्मेन्स भने निरन्तर खस्किदै गएको छ ।
निसानले भारतीय बजारमा ह्याचव्याक, सेडान तथा कम्प्याक्ट एसयूभी सबै फ्लप भएका छन् । निसानले सस्तो मूल्यमा वेच्नका लागि सवब्राण्ड ड्याटसनको समेत उत्पादन गरेको थियो । उक्त ब्राण्डका कारहरू पनि कमजोर बिक्रीका कारण यस अघिनै उत्पादन बन्द भइसकेको छ ।
नयाँ मोडल लन्च गर्दै बन्द गरिरहेको निसान इन्डियाका कारण यो ब्राण्ड प्रतिको विश्वास डगमगाउनुका साथै सेकेन्ड ह्याड मार्केटमा समेत निसानका गाडिहरूको भ्यालुएसन एकदमै कमजोर हुन थालेको छ ।

