मासिक ३५ हजारभन्दा कम किस्तामा इलेक्ट्रीक ट्याक्सी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सीको विक्री सुरु गरेको छ । कम्पनीले विक्री सुरु गरेको विद्युतीय ट्याक्सी एक्सप्रेस टी सेडान कार मासिक ३४ हजार ६६० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ ।

सुरुमा ट्याक्सी किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । अहिले सिप्रदीले एक्सप्रेस टीको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ । कम्पनीले ३ वर्षसम्म मर्मत सम्भारमा लाग्ने सम्पूर्ण रकम तिर्नु नपर्नेगरी स्कीम तयार पारेर यो मूल्य तोकेको हो ।

यसको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १८ लाख ४९ हजार ५०० रुपैयाँ सुरुमा बुझाउनु पर्ने हुन्छ । त्यसपछि बाँकी त्यति नै रकम ७ वर्ष भित्र चुक्ता गर्नेगरी १४ प्रतिशत ब्याजदरमा कर्जा लिँदा मासिक ३४ हजार ६६० रुपैयाँ तिर्नु पर्छ । टाटाको इलेक्ट्रीक ट्याक्सी किन्ने ग्राहकले दैनिक १ हजार २ सयभन्दा कम रकम किस्ता वापत छुट्याउँदा पुग्छ ।

सिप्रदीले इलेक्ट्रीक ट्याक्सीको लागि छुट्टै शोरुमदेखि सर्भिस नेटवर्क तयार पारेर काम अगाडि बढाएको छ । टाटाले ट्याक्सीको रुपमा ल्याएको एक्सप्रेस टीमा ५५ किलोवाट क्षमताको मोटर र २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको छ । यसले १७० एनएम टर्क उत्पादन गर्छ ।

सिंगल चार्जमा २३० किलोमिटर हाराहारी रेन्ज दिने एक्सप्रेस टीलाई अटोमोटीभ नियामक संस्था एआरएआईले भने सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्ने प्रमाणित गरेको छ ।

५ सिट क्षमता भएको यस ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर रहेको छ । बुट स्पेस ३१६ लिटर पाउन सकिन्छ ।

गाडीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३२ एमएम छ । त्यसैगरी, २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

एसी र डिसी दुबै चार्ज सर्पोट गर्ने एक्सप्रेस टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शुन्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यस्तै, २५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेट भित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

मल्टी ड्राइभ मोड उपलब्ध यो गाडीमा अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । यस ईभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएको छ ।

सुरक्षाका लागि यसमा ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस, पावर विन्डो, ड्राइभर इन्फरमेसन सिस्टम दिइएको छ ।

सिप्रदीले एक्सप्रेस टी मोडलको विद्युतीय कार नेपाली बजारका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरी बिक्री सुरु गर्ने तयारी थालेको छ ।

विशेष प्याकेज पाइने

कम्पनीले ईभी ट्याक्सी खरिद गर्ने ग्राहकका लागि विशेष प्याकेज समेत तयार गरेको छ । यसमा ग्राहकले ब्याट्री प्याक र मोटरमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटर वारेन्टी प्राप्त गर्नेछन् ।

त्यसैगरी, कम्पनीले एक वर्षको इन्स्युरेन्स, १ वर्षका लागि रोड ट्याक्स निःशुल्क दिने छ । साथै, अन्य एसेसरीज, रिभर्स पार्किङ क्यामेरा,जीपीएस, फ्लोर म्याट, डोर भाइजर, मड गाड, ट्याक्सी लेखिएको डिजिटल बोर्ड, स्पेयर टायर जस्ता अत्यावश्यक सामान थप गरिदिने जनाएको छ ।

गाडीको मूल्यमा नै कम्पनीले ३ वर्षसम्मका लागि आवश्यक पर्ने सर्भिस लगायतका काम प्रदान गर्नेछ । ग्राहकले अतिरिक्त रकम तिर्नु पर्ने छैन । यसले ग्राहकलाई बीचमा आउन सक्ने खर्चबाट ढुक्क बनाउने छ ।


Back_to_top