होन्डा साइन १०० र १२५ मा यस्ता छन् भिन्नता, केही समयपछि नेपाल आउने

काठमाडौं । होन्डाले केहि दिन अगाडि भारतीय बजारमा साइन १०० सार्बजनिक गर्दै आफ्ना प्रतिस्पर्धीलाई कडा चुनौती पेस गरेको छ । लुक्समा होन्डा साइन १२५ को हुबहु डिजाइनमा आएको साइन १०० होन्डाको इन्ट्री लेभल मोडल हो ।

साइन १२५ जस्तै डिजाइन रफिचरको कारण यसले अहिले खुब चर्चा पाइरहेको हो । इन्जिन क्षमताको आधारमा सानो भएपनि अन्य धेरै समान पार्टसको कारण साइन १०० ले बजारमा निकै राम्रो प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ।

होन्डाको सबैभन्दा सानो साइन १०० र साइन १२५ बीच रहेका तुलनात्मक भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

इन्जिन

होन्डा साइन १०० मा ९९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ ब्रेकहर्स पावर र ८.५ एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा ४ स्पीडको गियरबक्स दिइएको छ । त्यस्तै साइन १२५ मा १२४ सीसी क्षमताको इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम १०.७४ ब्रेकहर्स पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । साइन १२५ मा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

सस्पेन्सन, ह्वील र ब्रेक

दुबै मोटरसाइकलमा समान टेलिस्कोपिक सस्पेन्सन फ्रन्ट फोर्क र ट्विन रियर सक रहेको छ । दुबै मोडल डायमण्ड फ्रेममा बनेको हो । यसबाहेक साइन १२५ मा पाँच स्टेपको रियर सस्पेन्सन प्रिलोडेड एड्जस्टेबल दिइएको छ । जुन, साइन १०० मा छैन ।

साइन १०० को अगाडि र पछाडि दुबै चक्कामा ड्रम ब्रेक प्रयोग भएको छ । तर, होन्डा साइन १२५ मा अगाडि २४० एमएम डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

फिचर

दुबै मोटरसाइकलमा सेमी डिजिटल कन्सोल, हेलोजन हेडलाइट, एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्जिन किल फंगसन जस्ता फिचरहरु छन् । साइन १२५ को इन्जिनले अल्टर्नेटिङ्ग करेन्ट जेनेरेटर (एसीजी) को साथमा साइलेन्ट स्टार्टअप प्रदान गर्छ । जुन साइन १०० मा दिएको छैन ।

साइन १२५ मा स्टार्ट किल स्वीच बटन छ भने, साइन १०० मा सरल स्टार्टर बटन पाउन सकिन्छ ।

डाइमेन्सन

साइन १२५ भन्दा १०० थोरै सानो साइजमा रहेको छ । ग्राउन्ड क्लियरेन्स साइन १२५ मा १६२ एमएम र १०० मा १६८ एमएम दिइएको छ । ह्वीलबेस साइन १२५ को १२८५ एमएम र १०० को १२४५ एमएम रहेको छ ।

त्यसैगरी सिट साइज साइन १२५ को ७९१ एमएम र १०० मा ७८६ एमएमको दिइएको छ ।

मूल्य

मूल्यको कुरा गर्नुपर्दा हाल नेपाली बजारमा साइन १२५ को सुरुवाती मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँदेखि २ लाख ८३ हजार ९०० रुपैयाँसम्म रहेको छ । साइन १०० भने हालको लागि भारतीय बजारमा मात्रै सार्बजनिक भएको हो ।

निकट भविष्यमा नै नेपाल आउन सक्ने साइन १०० को भारतमा मूल्य ६४ हजार ९०० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ ।


Back_to_top