काठमाडाै । वसन्त ऋतुको सुरुवातसँगै वातावरणको तापक्रम बढेको छ । अत्याधिक गर्मी हुने वैशाख, जेठ, असार महिनामा घर बारिह निक्लन समेत असहज हुन्छ । गर्मीको मौसममा एसी राखिएको सवारीसाधनमा यात्रा गर्न सहज हुन्छ, तर हामीलाई गर्मीबाट बचाउने सवारीसाधनको सुरक्षा गर्नु पनि उत्तिकै जरुरी हुन्छ । गर्मीको मौसममा कार, मोटरसाइल, स्कुटरलगायतका साधनको ध्यान कसरी राख्ने ?
पार्किङको बेला कारको सिसा बन्द गर्ने
कार पार्किङको समयमा कारको सिसा लगाइएको छ वा छैन ध्यान दिनुपर्छ । कारभित्र सहजरूपमा हावा आदान–प्रदान हुने गरी झ्यालको सिसा आधामात्रै खोल्नुपर्छ । विज्ञकाअनुसार कारको सबै सिसा पूर्णरूपमा बन्द हुँदा कारमा ग्यास बन्नसक्छ । जुन कारका लागि निक्कै हानीकारक हुनेछ ।
एसीको व्यवस्थापन
गर्मी मौसममा कारमा अनिवार्यरूपमा एसी लगाउनुपर्छ । एसीको ट्यूव वा बल्वलाई समय–समयमा सफा राख्नुपर्छ । एसीको सबैभन्दा महत्वपूर्ण कुरा यसमा रहेको कन्सिडर हो । वर्षात्को समयमा एसीबाट हावा कम आएमा एसीभित्र बरफ जमेको हुनसक्छ । यस्तो समयमा तुरुन्त एसी बन्द गर्नुपर्छ, तर ब्लोअर भने निरन्तर चल्न दिनुपर्छ ।
कुलरको मात्रा चेक गर्ने
गर्मी मौसममा गाडी छिट्टै तात्तिने गर्छ । यस्तो समयमा गाडीलाई चिसो बनाइराख्न कुलर उपयोगी मानिन्छ । विशेषत लामो दूरीको यात्राको लागि निक्लिएको समयमा कुलरको मात्रा जाँच गरी आवश्यकता अनुसार चलाउनुपर्छ । कारमा राखिएको कुलरले काम नगरेको अवस्थामा कार हिट भई इञ्जिनसमेत फ्रिज हुनसक्छ ।
ब्याट्रीको चेकजाँच
विज्ञहरू विशेषतः गर्मी मौसमको समयमा कारको ब्याट्रीको चेकजाँच अनिवार्यरूपमा गर्नैपर्ने बताउँछन् । इलेक्ट्रोलाइटबाट निर्माण नभएका ब्याट्रीको निरन्तर चेकजाँच गर्नुपर्छ । ब्याट्रीमा सफा पानी (डिस्टील वाटर) भए नभएको चेक गर्नुपर्छ ।
इन्धनको चेकजाँच
ग्यासोलिन कारहरूका लागि इन्धन तेल सबैभन्दा महत्वूर्ण आवश्यकता हो । गाडीको सुरुक्षाको पाटोको रूपमा रहेको इन्धनको चेकजाँच गरिरहनुपर्छ । अन्यथा एसीमात्रै होइन, गन्तब्यमा नपुगी कार नै रोकिन सक्छ ।
फ्यूल राख्नुपूर्व अपनाउनुपर्ने सावधानी
कार, बाइक, स्कुटरलगायतका साधनमा फ्यूल राख्दा कहिले पनि फुल ट्याङ्की इन्धन राख्नुहुँदैन । सवारीसाधनमा निश्चितमात्रामा मात्रै इन्धन अट्ने ट्याङ्की बनाइए तापनि कतिपय मानिसको जबरजस्ती धेरै तेल हाल्ने बानी हुन्छ । सवारी विज्ञले सवारीसाधनमा आवश्यकता तथा मात्राअनुसार नै इन्धन हाल्न भन्दै फुल ट्याङ्की नराख्न सुझाव दिएका छन् ।
टायरको हावा चेक गर्ने
कारको कुनै एक पाङ्ग्रामा हावा कम भएमा दुर्घटनाको सम्भावना अत्याधिक हुन्छ । साथै, कारको माईलेजमा समेत प्रभाव पर्न सक्छ । लामो दूरीको यात्रामा निक्लिएको अवस्थामा अनिवार्यरूपमा टायरको हावा चेकजाँच गर्नुपर्ने विज्ञहरूको सुझाज छ ।
ब्रेक चेकजाँच गर्ने
गर्मि मौसममा ब्रेकको ग्रीफ हिट भएर कारको बे्रक आफै लाग्नसक्छ । जसले गर्दा दुर्घटना निम्तिन सक्छ । त्यसैले गर्मी महिनामा बारम्बार गाडीको ब्रेक चेक गर्नुपर्छ ।
गर्मी महिनामा ड्राइभिङ गर्ने तरिका
कहिले तीव्र गतिमा त कहिले ढिलो सवारी चलाउने गरेमा चाँडै कारको इञ्जिनमा समस्या आउने सवारी विज्ञ बताउँछन् । त्यसमाथि पनि गर्मी समयमा बढी समस्या देखापर्ने भएकाले एकै रफ्तारमा मात्र कार चलाउनुपर्छ । तिव्र गतिमा सवारी चलाउँदा छिट्टै कारमा समस्या आउने उनीहरू बताउँछन् ।

