प्रदेश ३ सरकारले लाइसेन्स र नम्बर प्लेट दिन माग्यो सफ्टवेर र ट्राफिक प्रहरी

काठमाडौं । प्रदेश ३ सरकारले केही समय अघिदेखि आफ्नै प्रदेश संकेतसहित सवारीसाधनको नम्बर प्लेट जारी गर्न सुरु गरेको थियो । तर त्यो हेटौंडामा रहेको सेवा कार्यालयमा मात्र सीमित रहेको छ ।

प्रदेश सरकारले लाइसेन्स भने विभागले सफ्टवेर र ट्राफिक प्रहरी प्रदेशमा नहुँदा जारी गर्न नसकिएको प्रदेश सरकारको भनाई छ ।

विभागले सवारी दर्तामा पहुँच दिएकाले प्रदेश ३ राखेर सवारी दर्ता सुरु भइसकेको प्रदेश ३ भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लक्ष्मण बिक्रम थापाले बताए ।

‘प्रदेशकै नाममा सवारी दर्ता गर्न विभागले एक्सेस दिएकाले यातायात सेवा कार्यालय हेटौंडाबाट प्रदेशकै नाममा सवारी दर्ता भइरहेको छ,’ थापाले भने, ‘काठमाडौंमा रहेको मोटरसाइकल कार्यालयले दसैं अघिदेखि नै प्रदेशको नाममा मोटरसाइल दर्ता गरेको हो । अन्य कार्यालयबाट पनि छिट्टै दिन्छौं ।’

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशकै नाममा जारी गर्न प्रदेश सरकार तयार रहेको भएपनि यातायात व्यवस्था विभागले सफ्टवेर नदिँदा काम नभएको थापाको भनाइ छ ।

‘लाइसेन्स जारी गर्ने विषयमा दुईवटा कुरा आएका छन्,’ उनले भने, ‘पहिलो सफ्टवेरमा पहुँच र दोस्रो ट्राफिक ।’ लाइसेन्सको ट्रायलका लागि ट्राफिक प्रहरी आवश्यक पर्छ । विगतमा विभागसँग भएको अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएर काम हुँदै आएको भन्दै थापाले भने, ‘अब ट्राफिक प्रहरीको व्यवस्था कसरी हुन्छ ? प्रदेश सरकारसँग ट्राफिक प्रहरी त छैन ।’

प्रदेश सरकारले काम गर्न नसक्ने भन्ने छैन, तर नीतिगत रुपमा जिम्मेवारी आएपनि व्यवहारीक रुपमा नआउँदा समस्या भएको उनको भनाई छ । केन्द्र सरकारले अहिलेसम्म सफ्टवेरमा पहुँच नदिएकाले प्रदेश सरकारले आफ्नै नाममा लाइसेन्स जारी गर्न नसकेको हो ।

त्यस्तै कर्मचारीलाई ट्रेनिङ गर्नुपर्नेलगायत धेरै काम प्रदेश सरकारले पनि गर्न बाँकी छ । तर त्यसका लागि सिस्टम हस्तान्तरण हुनु पर्ने थापाको भनाइ छ । प्रदेश सरकारले पनि आफ्नै कानुन बनाउँदै छ यसले पनि धेरै विषयको सम्बोधन गर्ने उनले बताए । 

याे पनि पढ्नुहाेस्:  यातायात विभागको कारण लाइसेन्स र नम्बर प्लेट दिन समस्या: प्रदेश ५

याे पनि पढ्नुहाेस्: के गर्दैछ गण्डकी प्रदेश ? कहिले जारी गर्छ, आफ्नै लाइसेन्स र नंबर प्लेट ?

याे पनि पढ्नुहाेस्: लाइसेन्स जारी गर्न आक्रमक बन्दै प्रदेश २, आफ्नै कानुन बनाउँदै

याे पनि पढ्नुहाेस्:  प्रदेश १ बाट लाइसेन्स र नम्बर प्लेट वितरण, कहाँ रुमल्लियो सरकार ?


Back_to_top