तत्काल पल्सर NS-200 एबीएस नेपाल नआउनुको यस्तो छ कारण

काठमाडौं । भारतीय बजारमा ६ महिना अगाडि बजाजले आफ्नो सर्वाधिक लोकप्रिय मोटरसाइकल एनएस-२०० एबीएस भर्सन सार्वजनि गर्यो । एनएस २०० नेपालमा पनि सर्वाधिक रुचाइएको बाइक हो । तर, एबीएस वाईक रेगुलरभन्दा करिब ६० हजार हाराहारीमा महंगो हुने भएकाले तत्काल नेपाली बजारमा नल्याइएको नेपालको लागि बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनी प्रालि स्रोतले जनाएको छ । 

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाल भित्रिनेसमेत चर्चा भएपछि एनएस लभरहरूमा उत्साह छाएको थियो । तर, कम्पनीले एनएस-२०० एबीएस भर्सन तत्काल नेपाल नआउने जनाएको छ । 

‘बजेको प्रभाव तथा एबीएस भएका कारण यसको मूल्यमा धेरै अन्तर देखियो । त्यसैले तत्काल एनएस-२०० एबीएस भर्सनमा नेपाल आउँदैन’, एचएच बजाजका अपरेशनल हेड योगिन गुरुङले मेरोअटोसँग भने ।

नेपाली बजारमा पल्सर एनएस बाइक किन्नु बजारमा ट्रेण्डकैरुपमा रहेको छ । २०० सीसीमा रहेको यो बाइक स्पोर्टी लुक्स र उच्च पिकअपले युवावर्गलाइ निकै आकर्षित गरेको छ । ९५०० आरपीएममा २३-२ बीएचपी र ८००० आरपीएममा १८-३ टर्क उत्पादन गर्ने यो बाइकले ३६ किलोमिटर माइलेज दिने उत्पादकले दाबी गरेको यस बाइकमा ६ गियर रहेको छ ।

‘नेपाली बजारमा एनएस २०० एबीएस ल्याउने प्रयास हामी गरिरहेका छौं तर, मूल्यको कारण तत्काल निर्णयमा पुग्न सकिएको छैन । रेगुलर भन्दा करिब ६० हजार महंगो पर्ने देखियो, उपयुक्त समयमा यसलाई बजारमा ल्याउने छौं’ कम्पनीको माकेटिङ्ग हेड पुनम सिंहले मेरोअटोसँग भनिन् । 

अहिले नेपाली बजारमा एनएस-२०० को मूल्य २ लाख ९५ हजार ९०० रहेको छ । आर्थिक  वर्ष २०७५/०७६ को बजेटपश्चात् ३४ हजार रुपैयाँले बढेर ३ लाख २९ हजार ९०० रुपैयाँ पुगेको कम्पनीले जानकारी गराउँदै तत्कालका लागि स्टक रहँदासम्म पुरानै मूल्य कायम रहेको जनाकारी दिएको छ । 


Back_to_top