काठमाडौं । कोभिड महामारीका कारण विगत २ वर्षदेखि हुन नसकेको नाडा अटो शो यो वर्ष हुने पक्का भएको छ । आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने शोको विशेष आकर्षण इलेक्ट्रीक कारहरु हुने पक्का जस्तै छ । तर, इन्ट्री लेभलका यूटिलिटी भेहिकल (यूभी)मा पनि धेरै ग्राहकहरुको रुची रहेको पाइन्छ ।

आगामी नाडा अटो शोमा दुई फरक अटोमोवाइल ब्राण्डले आफ्नो नयाँ साना एसयूभी शोकेस गर्ने पक्का गरिसकेका छन् । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले भारतीय बजारमा विगत ६ महिनादेखि विक्री हुँदै आएको माइक्रो एसयूभी पन्च ल्याउने जनाएको छ ।
केही महिना अघि मात्रै नेपाल आएको फ्रेन्च अटोमोवाइल कम्पनी सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले पनि आफ्नो पहिलो भारतीय उत्पादन सि थ्री अटो शोमा ल्याउने भएको हो ।
दुबै गाडी साइजमा ४ मिटरभन्दा सानो भएपनि एसयूभी लुक्सका कारण चर्चा बटुली रहेका छन् । विश्व तथा नेपाली बजार पनि ह्याचव्याक कारको सट्टामा एसयूभी लुक्स भएका अग्ला क्रसओभर प्रति ग्राहक आकर्षित भइरहेको समयममा बजारमा आउन लागेका यी दुबै कारले राम्रो बजार पाउनेमा कुनै संका छैन । शुरुवाती मूल्य ३० लाखको आसपास रहने यी कारहरुको माथिल्लो भेरियन्ट ४० लाखसम्ममा किन्न पाइने अनुमान गर्न सकिन्छ ।
दुबै गाडीमा ३ सिलिण्डर क्षमताको १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड इन्जिन दिइएको छ । टाटा पन्चमा भएको इन्जिनले ८४ ब्रेकहर्स पावर तथा ११३ एनएम अधिकतम टर्क जेनेरेट गर्छ । सिट्रोन सीथ्रीको इन्जिनले ८० ब्रेकहर्स पावर तथा ११५ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले दावी गरे अनुुसार सिटोन सीथ्रीले १९.८ किमी र टाटा पन्चले १८.९७ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । दुबै कारमा ५ स्पीड म्यानुुअल गियरबक्स रहेको छ । सिट्रोन सि थ्रीमा १.२ लिटर टर्बो इन्जिन पनि रहने छ ।
साइजको कुरा गर्दा टाटा पन्चको तुलनामा सिट्रोन सिथ्रीको लम्बाई र ह्वीलवेस केही बढी छ । सिथ्रीको लम्बाई ३९८१, चौडाई १७३३ उचाई १५८६ र ह्वीलवेस २५४० एमएम रहेको छ ।
त्यसैगरी टाटा पन्चको लम्बाई ३८२७, चौडाई १७४२, उचाई १६१५ र ह्वीलवेस २४४५ एमएमको रहेको छ । ग्राउण्ड क्लियरेन्समा टाटा पन्च राम्रो छ । सिट्रोन सिथ्रीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने टाटा पन्चको ग्राउण्ड क्लियरेन्स १८७ एमएम छ ।

सुरक्षाका लागि दुबै कारमा दुईवटा एयरव्याग, एन्टीलक ब्रेकिङ सिस्टम रहेको छ । टाटा पन्चमा भने थप फिचरको रुपमा इलेक्ट्रोनीक ब्रेकफोर्स डिस्ट्रीव्युसन समेत रहेको छ । टाटा पन्चको एनक्याप क्रयास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङ पाएको छ भने सि थ्रीको क्रयास टेस्ट भएको छैन । दुबै कारमा ८० किलोमिटर प्रतिघण्टाको स्पीड पुगेपछि बिप साउण्ड आउछ । कारले १२० किलोमिटर प्रतिघन्टाको स्पीड पार गरेपछि निरन्तर बिप साउण्ड आउछ ।
कम्फर्टका लागि दुबै कारमा सिङ्गल जोन म्यानुअल एयर कन्डिसन रहेको छ । रियर प्यासेन्जरका लागि दुबै कारमा रियर एसी भेन्ट छैन । रिभर्स क्यामरा सहितको रियर पार्किङ सेन्सर दुबै कारमा पाउन सकिन्छ ।
सिट्रोन सिथ्रीमा पूर्णतया डिजिटल क्लष्टर रहेको छ भने पन्चमा सेमी डिजिटल क्लस्टर पाउन सकिन्छ । टाटा पन्चमा ७ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट रहेको छ भने सीथ्रीमा १० इन्चको पाउन सकिन्छ ।

