काठमाडौं । डाट्सन रेडी गो फेसलिफ्ट मोडलको नेपालमा बुकिङ खुल्ला भएको छ । कम्पनीले केही महिनाअघि भारतमा सार्वजनिक भएको रेडी गोको फेसलिफ्ट मोडल नेपाल ल्याउने भएको छ ।
नेपालको लागि आधिकारीक वितरक पायोनियर मोटोकर्पले बुकिङ खुल्ला गरेको रेडी गो फेसलिफ्ट मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
‘अबको १०/१२ दिनमा रेडी गो फेसलिफ्ट मोडलको बिक्री सुरु गर्ने तयारी गरेका छौं । त्यसको लागि मूल्य निर्धारण सहित प्रि–बुकिङ सुरु गरेका हौं’, पायोनिय मोटोकर्पका डिजीएम ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
इन्डियामा डाट्सनले लकडाउन खुकुलो हुने वित्तिकै नयाँ रेडी गो सार्वजनिक गरेको थियो ।
नयाँ रेडी गो पुरानोको तुलनामा निकै परिमार्जन सहित आएको छ । कम्पनीले यसमा ठूलो रेडियटर ग्रिल, स्लीकर हेडल्याम्प, एल सेपमा डिआरएलएस र नयाँ बम्परको प्रयोग गरेको छ ।
कम्पनीले टर्न इन्डिकेटरको नजिकै रेडी गोको व्याच दिएको छ । रुफरेलको प्रयोगले गाडीलाई पहिलाभन्दा ठूलो देखाएको छ । यसमा ५ ट्वीन स्पोक ह्वील दिइको छ ।
फेसलिफ्ट रेडी गोको इन्टेरियरमा पनि केही परिमार्जन गरिएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमा परिवर्तन गरिएको छ । कम्पनीले बीएस ६ मापदण्डको १.० लिटर पेट्रोल इन्जिनमा यसलाई ल्याउने छ । उक्त १.० लिटर इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क प्रदान गर्छ ।


