काठमाडौं । रोयल इनफिल्डले आफ्नो मोटरसाइकलको उत्पादन क्षमता बढाउने योजना बनाएको छ । ब्रिटिस मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले भारतमा आफ्नो मोटरसाइकलको उत्पादन बढाउने घोषणा गरेको हो ।
कम्पनीले भारतको तामिलनाडुस्थित चेयर प्लाण्टमा हरेक वर्ष १४ लाख ६० हजार युनिट मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ । अब उत्पादन बढाएर हरेक वर्ष २० लाख युनिट मोटरसाइकल उत्पादन गर्ने भएको हो ।
कम्पनीले यसका लागि आफ्नो मोटरसाइकल उत्पादन भइरहेको चेयर प्लाण्टमा ९ अर्ब ५८ करोड भारु लगानी गर्ने भएको छ । भारतसँगै अन्य देशहरूमा माग बढ्दै जाँदा कम्पनीले मोटरसाइकल उत्पादन बढाउने लक्ष्य बनाएको हो ।
कम्पनीले सन् २०२५ मा १० लाख ७१ हजार ८०९ युनिट मोटरसाइकल बिक्री गर्दै पहिलो पटक १० लाख युनिटको माइलस्टोन पार गरेको छ । यो रोयल इनफिल्ड मोटरसाइकलको अहिलेसम्मकै उच्च बिक्री रेकर्ड हो ।
२०२५ मा रोयल इनफिल्ड इन्डियाले १ लाख ३२ हजार १३२ युनिट मोटरसाइकल अन्य देशमा निर्यात गरेको छ । पछिल्लो रिपोर्ट हेर्दा हाल भइरहेको आफ्नो उत्पादनको लगभग सबै युनिट बिक्री गरेको देखिन्छ । त्यसैले, बढ्दै गइरहेको मागलाई मध्यनजर गर्दै कम्पनीले उत्पादन क्षमता बढाउने योजना सुरू गरेको हो ।
प्लाण्टको उत्पादन क्षमता बढाउने काम आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकबाटै सुरू हुने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०२७/२८ सम्ममा पूरा हुनेछ । त्यसपछि रोयल इनफिल्डको वार्षिक उत्पादन क्षमता ३७ प्रतिशतले बढ्नेछ ।
रोयल इनफिल्ड मोटरसाइकल ब्रिटिस ब्राण्ड भए पनि अहिले यसको उत्पादन सबैभन्दा धेरै भारतमै भइरहेको छ । हाल नेपालमा पनि यसका मोटरसाइकल एसेम्बल हुँदै आएको छ ।

