नेपालमा रोयल इनफिल्डकाे नयाँ जेनेरेशन क्लासिक ३५० सार्वजनिक हुँदै

काठमाडौं । रोयल इनफिल्डकै सबैभन्दा धेरै बिक्री हुने मोडल क्लासिक ३५० को नयाँ जेनेरेशन नेपाली बजारमा आगामी साता सार्वजनिक हुने भएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नयाँ जेनेरेशन क्लासिक ३५० को प्रचार प्रसार सुरू गरेको हो ।

कम्पनीले आफ्नो सामाजिक संजालमा टिजर सार्वजनिक गर्दै मंसिर १२ गते नयाँ मोडल सार्वजनिक गर्ने जानकारी गराएको हो ।

सार्वजनिक टिजरका अनुसार नयाँ आउने मोटरसाइकल क्लासिक ३५० को नयाँ जेनेरेशन हुने अनुमान गर्न सकिन्छ । रोयल इनफिल्ड लाइनअपमै सबैभन्दा चर्चित मोटरसाइकल क्लासिक ३५० नेपालमा पनि सर्वाधिक रुचाइएको मोटरसाइकलमा पर्छ ।

अघिल्लो वर्ष नै भारतीय बजारमा सार्वजनिक भएको नयाँ जेनेरेशन क्लासिक ३५० मा निकै नै परिर्वतन गरिएको छ । कम्पनीले नयाँ क्लासिक ३५० ‘जे’ प्लेटफर्ममा निर्माण गरेको हो ।

यो मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

न्यू जेनेरेशन मोडलमा ट्रिपर नेभिगेशन दिइएको छ । यसको सबै मोडलमा भने नेभिगेशन उपलब्ध छैन् । नेपालमा हालसम्म कुन मोडल आउँछ भन्ने यकिन भइसकेको छैन् ।

न्यू जेनेरेशन क्लासिक ३५० मा कम्पनीले किक स्टार्ट गर्ने अप्सन हटाएको छ । रोयल इन्फिल्डले एबीएस फिचर पनि अप्सनल दिएको छ । कम्पनीले केही भेरियन्टमा सिंगल च्यानल एबीएस र केही भेरियन्टमा डबल च्यानल एबीएस दिनेछ ।


Back_to_top