काठमाडौं । साझा यातायात एक वर्षमा नै १ करोड ७८ लाख रुपैयाँ घाटामा गएको छ । साझाको घाटा अघिल्लो वर्षको तुलनामा भने ४ लाख रुपैयाँले घटेको हो ।
आर्थिक वर्ष ०७४/७५ मा साझा यातायातले १ करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोरेकोमा अघिल्लो आर्थिक वर्षमा १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा भएको साझाले जनाएको छ ।
साझा यातायात सहकारी संस्था लिमिटेडले अघिल्लो साता गरेको १२औं साधरणसभामा प्रस्तुत प्रतिवेदन अनुसार साझाले गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । जबकी बस सञ्चालन खर्च भने १३ करोड ५ लाख ६२ हजार रुपैयाँ भएको थियो ।
यस्तै, साझाले अन्य शिर्षकमा तीन करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । साझाले वर्षभरीमा १३ करोड ५४ लाख ६९ हजार कुल आम्दानी गरेपनि बस सञ्चालन, प्रशासनिक खर्च र कर बुझाउँदा १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
साझाको प्रशासनिक, ब्याज र ह्रास खर्च १ करोड ९५ लाख ९७ हजार रुपैयाँ रहेको छ । साझाले आयकर खर्च ३१ लाख ९८ हजार रुपैयाँ गरेको छ ।
२०७० बाट पुनः संचालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा गरेको छ । आर्थिक वर्ष ०७०/७१ मा साझाले तीन करोड ६९ लाख २३ हजार घाटा व्यहोरेको थियो । ०७१/७२ मा ७२ लाख ६८ हजार नाफा गरेको साझाले ०७२/०७३ मा १ करोड ९९ लाख ७२ हजार नाफा गरेको थियो ।
तर, त्यसयताका आर्थिक वर्षहरुमा घाटा बेहोरिरहेको छ । ०७३/०७४ मा साझा १ करोड ८२ लाख ६५ हजार घाटामा गएको थियो ।
२०५८ माघ ११ को मन्त्री परिषद बैठकले खारेज गरेको साझा एक वर्षपछि अदालतले मन्त्री परिषदको निर्णय नै खारेज गरेपछि साझा यातायातको धङधङ मात्र बाँकी रहेको थियो । त्यो पनि २०६८ मा आइपुग्दा पूर्ण रुपमा बन्द भएको थियो ।
त्यसपछि पुनः २०७० बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो । काठमाडौं तथा ललितपुर महानगरपालिकाको शेयर लगानीसमेत साझा यातायातमा रहेको छ । हाल साझा यातायातले काठमाडौं उपत्यकासहित धुलिखेल तथा लामो दूरिमा समेत बस सेवा सञ्चालन गर्दै आएको छ ।
लोकल रुटमा पनि साझा यातायातमा टिकट अनिवार्य छ । तर, पनि चुहावट रोकिन नसकेको गुनासो शेयरधनीले साधरणसभा राखेका छन् । चुहावट रोक्नका लागि स्मार्ट कार्ड प्रयोगमा ल्याउन धेरैले सुझाव दिएका छन् । यस्तै बस संचालनबाट आम्दानी कम हुनुमा साझाले दिने छुट समेत भएको शेयरधनीको निष्कर्ष छ ।
यसले के संकेत गर्छ भने साझा यातायात विगतकै बाटो तर्फ त जाँदै छैन ? विगतमा पनि साझाले देशभर आफ्नो सेवा विस्तार गरेको थियो । तर राजनीतिक हस्तक्षप र चुहावटका कारण साझा यातायात बन्द भएको थियो । अहिले पनि सञ्चालन नहुँदै घाटा बेहोर्नुले विगत सम्झाएको छ ।
यसका लागि सञ्चालकहरुले बेलैमा ध्यान नदिने हो भने साझाले पुरानै नियती बेहोर्न सक्छ ।


