बुकिङमा रेकर्ड बनाएको सियरा डेलिभरीका लागि तयार

काठमाडौं । बुकिङमा रेकर्ड बनाएको टाटा मोटर्सको नयाँ एसयूभी सियरा डेलिभरीका लागि ठूलो संख्यामा उत्पादन गरिएको छ ।

गत नोभेम्बरमा बुकिङ खुलाएको टाटाले  यसैसाता (जनवरी १५) देखि सियराको डेलिभरी दिने भएको हो । सियरा २४ घण्टामा ७० हजार युनिट बुकिङ हुँदै एकदिनमा सर्वाधिक बुकिङ हुने मोडलको रेकर्ड समेत बनाएको थियो ।

टाटाले हाल गुजरातको सानन्द प्लाण्टमा धमाधम सियरा एसयूभी उत्पादन गरिरहेको हो । कम्पनीले हजारौं संख्यामा उत्पादन गरेर डेलिभरीका लागि तयार बनाएको छ ।

कम्पनीले सुरूमा मासिक ७ हजार ५०० युनिट उत्पादन गर्ने योजना बनाएको थियो । तर, अत्यधिक बुकिङ भएपछि कम्पनीले मासिक १२ देखि १५ हजार युनिट उत्पादन गरिरहेको छ ।

सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो । यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिन्छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । त्यस्तै, सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल, सिल्हुट कर्नरिङ फग लाइट जडान गरिएको छ ।

टाटाले सियरा एसयूभीमा कम्पनीकै सबैभन्दा धेरै टेक फिचर उपलब्ध गराएको छ । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टीयरिङ(माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आइआरभीएम छ ।

यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्ट लगायत फिचर छन् ।

नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ । यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ । डिजेल इन्जिन भने २.० लिटरमा छ ।

नेपाली बजारमा पनि टाटा सियरा चाँडै आउने बताइएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी फेब्रुअरीसम्ममा सियरा पेट्रोल इन्जिनमा बिक्री थाल्ने योजना बनाएको बताइएको छ ।


Back_to_top