काठमाडौं । नेपालमा विक्री हुने लगभग एउटै मूल्यका कार मासिक १८ हजार किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । अहिले बजारमा विक्री हुँदै आएका हुन्डाई सेन्ट्रो, रेनो क्वीड, डाट्सन रेडी गो र मारुती सुजुकी एस-प्रेसो कम मासिक किस्तामा खरिद गर्न सकिने कार हुन् ।
हुन्डाई सेन्ट्रोको सुरुवाती भेरियन्ट इराको मूल्य २४ लाख ५६ हजार रुपैयाँ रहेको छ । तर, सेन्ट्रोको टप भेरियन्टको मूल्य ३२ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीले सेन्ट्रोमा नयाँ वर्ष स्कीम अन्तर्गत ८० हजार नगद छुट र कम्तीमा २० हजार स्क्र्याचकार्ड मार्फत छुट प्राप्त गर्न सक्ने छन् । यसरी हेर्दा सेन्ट्रोमा १ लाख नगद छुट प्राप्त गर्न सकिन्छ । अहिले सेन्ट्रो इरा किन्न चाहने ग्राहकले मासिक १८ हजार किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

मारुती सुजुकी एस-प्रेसो नेपालमा विक्री हुने अर्को कम मूल्यको गाडी हो । कम्पनीले २३ लाख ४९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्ममा विक्री गर्दै आएको एस-प्रेसो बल्की डिजाइनमा तयार भएको कार हो । यसमा कम्पनीले ७५ हजारसम्म छुट दिदै आएको छ । यसलाई मासिक १७ हजार ५ सय किस्ता तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् ।

रेनोको सफल ह्याचव्याक क्वीड पनि कम मूल्यमा किन्न सकिने कार हो । यसलाई कम्पनीले २४ लाख ९९ हजारदेखि २६ लाख ४९ हजारसम्म मूल्य निर्धारण भएर विक्री वितरण हुँदै आएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले यसलाई ७५ हजारसम्म नगद छुट दिदै आएको छ । यसको सुरुवाती भेरियन्ट खरिद गर्नेले मासिक १८ हजार ५ सय किस्ता तिर्नु पर्ने हुन्छ ।

अर्को कम मूल्यको कार डाट्सन रेडी गो हो । नेपालमा यसको दुई भेरियन्ट विक्री हुँदै आएको छ । यसलाई किन्न चाहने ग्राहकले म्यानुयल र अटोमेटिक गियरबक्समा खरिद गर्न सक्ने छन् । यसको म्यानुयल भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई पनि ग्राहकले १८ हजार ५ सयसम्म मासिक किस्ता तिर्नेगरि खरिद गर्न सक्छन् ।

अहिले बजारमा बैंक तथा वित्तीय संस्थाले अटो लोन ७ प्रतिशतदेखि नै दिदै आएका छन् । डाउन पेमेन्ट वापत गाडीको मूल्यको ५० प्रतिशत ग्राहकले आफुले तिर्नुपर्छ भने ५० प्रतिशत कर्जा लिन सक्नेछन् । बैंकले यसरी दिने कर्जा ७ वर्षको मासिक किस्तामा तिर्नेगरि लिन सकिन्छ ।

