काठमाडौं । कोभिड १९ (कोरोना) भाइरसको कारण नेपाली अर्थतन्त्रमा निकै ठूलो चुनौति थपिएको छ । यस्तोमा विगत ७० दिनदेखि उद्योग, कलकारखाना र व्यापार व्यवसाय सबै ठप्प प्रायः रहेको छ । लकडाउन सकिएपछि पनि तत्काल सार्वजनिक यातायातको प्रयोग गर्न डराउने मानिसको संख्या धेरै देखिन्छ । यस्तोमा सानै भएपनि कार किन्ने सोच बनाउनेहरुलागि कम्पनीहरुले विभिन्न किसिमका गाडीहरु उपलब्ध गराउँदै आएका छन् ।
यस्तोमा हामीले केही कम्पनीले बिक्री गर्दै आएका इन्ट्रीलेवलका गाडीको विषयमा जानकारी दिदैछौं । बजारमा कम मूल्यका ब्राण्ड अनुसारका इन्ट्रीलेवल कारको रुपमा हुन्डाई सेन्ट्रो, डाट्सन रेडी गो, महिन्द्रा केयूभी १००, मारुती सुजुकी अल्टो, फोर्ड फिगो र टाटा टियागो जस्ता गाडीहरु उपलब्ध रहेका छन् । लकडाउन पछि कम्पनीहरुले केही अफरहरु ल्याउने तयारी समेत गरिरहेको जानकारी हामीले प्राप्त गरेका छौं ।
हुन्डाई सेन्ट्रोः नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको हुन्डाई सेन्ट्रो नेपालमा निकै चर्चित मोडल हो ।

लामो समयदेखि नेपाली बजारमा उपलब्ध हुन्डाई सेन्ट्रोले नेपालमा २० वर्ष पुरा गरिसकेको छ । कम्पनीले यसमा १०८६ सीसी क्षेमताको फोर सिलिण्डर इन्जिन दिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले यसलाई सुरुवाति मूल्य २३ लाख ९६ हजार तोकेर बिक्री वितरण गर्दै आएको छ ।
डाट्सन रेडी गोः डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको रेडी गो सस्तो मध्येको एक मोडल हो । ७९९ सीसी क्षमताको रेडी गो पछिल्लो समय निकै राम्रो बिक्री भएको मोडल हो ।

कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आइरहेको छ ।
फोर्ड फिगोः विगत ७ वर्षदेखि नेपाल बजारमा उपलब्ध फोर्ड फिगो नेपालमा सफल मोडलको रुपमा रहेको छ । नेपालको लागि फोर्डको आधिकारीक वितरक जिओ फोर्डले बिक्री गर्दै आएको यस कारमा ११९४ सीसी क्षेमताको इन्जिन रहेको छ ।

कम्पनीले अहिले नेपालमा बिक्री गर्दै आएको फिगोको सुरुवाति मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
रेनो क्वीडः रेनोको लागि नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले रेनोका उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले २०१७ मा नेपालमा रेनोको उत्पादनको बिक्री सुरु गरेको हो ।

रेनो क्वीडमा ९९९ सीसी क्षेमताको इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
सुजुकी अल्टोः नेपाली सडकमा सबैभन्दा धेरै बिक्री हुने इन्ट्रीलेवल कार अल्टो हो । सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको अल्टोमा ७९६ सीसी क्षेमताको इन्जिन रहेको छ ।

अल्टो अहिलेपनि ट्याक्सीको रुपमा सबैभन्दा धेरै बिक्री हुने मोडल रहेको छ । यसको सुरुवाति मोडलको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
महिन्द्रा केयूभी १००ः महिन्द्रा एसयूभी सेग्मेन्टमा निकै चर्चित रहेको छ । नेपालमा महिन्द्राको प्यासेन्जर कार अग्नी इनकर्पोरेटले बिक्री वितरण गर्दै आएको छ ।

महिन्द्राले इन्ट्री लेवल कारको रुपमा बिक्री गर्दै आएको ११९८ सीसी क्षेमताको माइक्रो एसयूभीको सुरुवाति मूल्य २७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
टाटा टियागोः टाटाको ह्याचव्याक कारमा सबैभन्दा ठूलो परिमार्जन गरेको टियागो निकै सफल मोडलको रुपमा रहेको छ । सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको टियागोमा ११९९ सीसी क्षेमताको इन्जिन उपलब्ध रहेको छ ।

यसलाई कम्पनीले सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ ।

