काठमाडौंमा ट्राफिकको ‘कडा निगरानी तथा कारबाही’ अभियान

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी नियम उल्लंघन गर्ने विरुद्ध ‘कडा निगरानी तथा कारबाही’ अभियान सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विशेष अभियान नै संचालन गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) र अन्य ट्राफिक नियम उल्लंघन गर्दा सवारी दुर्घटना हुने दर बढेको छ ।

त्यसलाई न्यूनीकरण गर्न ट्राफिकले अभियान नै चलाएर कारबाही तीव्र पारेको हो । ट्राफिकले लेन क्रस, टाफिक लाइट, मापस, लापसे गर्ने लगायतलाई निगरानीमा राखेको छ । ट्राफिकले उपत्यकाका विभिन्न स्थानमा छड्क जाँचदेखि बिहानै मापसे, लापसे चेकिङ समेत थालेको हो ।

कार्यालयका अनुसार ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीका चालक, राइड सेयरिङ चालकलाई केन्द्रित गरेर विभिन्न स्थानमा मापसे, लापसे चेकजाँच सुरु गर्ने गरेको छ । पछिल्लो केही सातामै मापसे र लापसे गर्ने धेरै चालक कारबाहीको दायरामा आएको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) नरेशराज सुवेदीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको बताए । उनले विशेष गरी ट्राफिक लाइट, लेन अनुशासन पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको जानकारी दिए ।

‘दिउँसै मापसे गरेर सवारी चलाउने, रातो बत्ती बल्दा नरोकीकन सवारी चलाउने चालकहरू विरुद्ध कारबाही तीव्र बनाइएको छ । त्यस्ता दर्जनौं चालकहरू कारबाहीमा परेका छन्,’ उनले भने । आगामी दिनमा पनि यो अभियान झनै कडाइमा साथ संचालन गर्ने उनको भनाइ छ ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।


Back_to_top