मासिक किस्ता ३० हजार तिर्नेले चढ्न सक्छन् सब कम्प्याक्ट एसयूभी (सबै मोडलको मूल्यसहित)

काठमाडौं । अहिले संसारभर एसयूभीको बिक्रीमा वार्षिक १५ प्रतिशतले वृद्धि भइरहेको तथ्यांक बाहिर आएको छ । यस्तोमा नेपालमा पनि एसयूभी क्रेज बढ्नु स्वभाविक हो । मासिक किस्ता ३० हजारदेखि नै यस्ता एसयूभी चढ्न सकिने छ ।

नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, निसान किक्स, महिन्द्रा स्कर्पियो जस्ता मोडल बिक्री भइरहेका छन् । तर, यो सेग्मेन्टभन्दा पनि सब कम्प्याक्ट सेग्मेन्टमा माग उच्च रहेको पाइन्छ ।

उसो त नेपालमा आउने अधिकांश सवारीसाधन भारतीय बजारमा उत्पादन हुनेहुँदा भारतमा धेरै बिक्री हुने गाडी यहाँ पनि प्राय सफल भएका छन् । ४ मिटरभन्दा केही छोटो साइजमा निर्माण हुने सब कम्प्याक्ट एसयूभीको बजार बढ्दो क्रममा रहेको छ ।

अहिले नेपाली बजारमा हुन्डाई भेन्यू, मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० यो सेग्मेन्टमा बिक्री भइरहेका छन् । यस्तोमा यदि तपाई यही सेग्मेन्टमा गाडी किन्ने सोच्दै हुनुहुन्छ भने कुन गाडी किन्दा कति मासिक किस्ता तिर्नु पर्छ भनेर हामीले जानकारी दिने प्रयास गरेका छौं ।

हामीले यहाँ एउटा मोडलको स्टायडर्ड र टप भेरियन्टरको इएमआई निकालेका छौं । सरकारले गाडी किन्नेले अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने नियम बनाएकाले सबै गाडीको डाउन पेमेन्ट ५० प्रतिशत र कर्जा अवधि ७ वर्षलाई आधार मानेर तयार गरिएको हो ।

औषतमा बैंकहरुले ११ प्रतिशत व्याजदरमा अटाेलाेन प्रबाह गरिरहेकाले हामीले त्यसलाई आधार मानेर व्याजदर निकालेका छौं ।

१. हुन्डाई भेन्यू

हुन्डाईले केही समय अगाडि नेपाली बजारमा ल्याएको भेन्यू विभिन्न ९ भेरियन्टमा उपलब्ध रहेको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले भेन्यूको सुरुवाति मूल्य इ भेरियन्टको ३४ लाख ९६ हजार, एस भेरियन्टको ३७ लाख ९६ हजार, १.० लिटर टर्बो एस भेरियन्टको ४१ लाख ९६ हजार, टर्बो एसएक्स भेरियन्टको ४८ लाख ९६ हजार, एसएक्स (अप्सनल) को ५३ लाख ५६ हजार, एस डिसिटी भेरियन्टको ४६ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

त्यसैगरी डिजेल इन्जिनयुक्त एस भेरियन्टको ४२ लाख ५६ हजार र एसएक्स डिजेलको ४८ लाख ५६ हजार छ भने टप भेरियन्ट एसएक्स डिसिटी टर्बो पेट्रोलको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

यदि तपाईको रोजाईमा स्टायडर्ड भेरियन्ट पर्छ भने तपाईले १७ लाख ४८ हजार रुपैयाँ कर्जा लिनुपर्ने हुन्छ । उक्त कर्जाकाे किस्ता मासिक २९ हजार ९३० रुपैयाँका दरले तिर्ने गरेर भेन्यू किन्न सक्नु हुनेछ ।

तपाईको रोजाइमा टप भेरियन्ट पर्छ भने तपाईले २७ लाख ९८ हजार रुपैयाँ कर्जा लिनु पर्नेछ । तपाईको मासिक किस्ता ४७ हजार ९०८ रुपैयाँ हुन आउँछ ।

२. मारुती सुजुकी ब्रेजा

सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको ब्रेजा नेपालमा तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले बिक्री गर्दै आएको भिडीआई भेरियन्टको मूल्य ३९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने जेडडीआई भेरियन्टको ४४ लाख ९९ हजार र जेडडीआई प्लस डियुल टोनको ४५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

भिडीआई भेरियन्ट किन्नेले १९ लाख ७४ हजार ५०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ भने मासिक ३३ हजार ८०८ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।  त्यसैगरी टप भेरियन्ट किन्न चाहनेले २२ लाख ६४ हजार कर्जा लिदा ३८ हजार ७७३ रुपैयाँ मासिक किस्ता वापत तिर्नु पर्ने हुन्छ ।

३. टाटा नेक्सन

सिप्रदी ट्रेडिङले नेपालमा बिक्री वितरण गर्दै आएको टाटा नेक्सन विभिन्न १२ भेरियन्टमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले पेट्रोल इन्जिनमा एक्सइ भेरियन्टको मूल्य ३५ लाख ५५ हजार, एक्सएम भेरियन्टको ३७ लाख ९९ हजार, एक्सजेड भेरियन्टको ४० लाख ५५ हजार, एक्सजेड प्लस भेरियन्टको ४३ लाख ९९ हजार र एक्सजेडए प्लस भेरियन्टको ४६ लाख ५५ हजार र एक्सजेड प्लस डियुल टोन भेरियन्टको ४४ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै डिजेल इन्जिनयुक्त एक्सई भेरियन्टको ३८ लाख ५५ हजार, एक्सएम भेरियन्टको ४० लाख ९९ हजार, एक्सटी भेरियन्टको ४३ लाख ५५ हजार, एक्सजेड प्लस भेरियन्टको ४६ लाख ५५ हजार एक्सजेडए प्लस भेरियन्टको ४८ लाख ९९ हजार र एक्सजेड प्लस डियुल टोनको ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यसरी हेर्दा कम्पनीको सबैभन्दा कम मूल्यमा पेट्रोल एक्सइ भेरियन्ट हो भने सबैभन्दा महंगो मूल्यको एक्सजेडए प्लस डिजेल भेरियन्ट हो ।

पेट्रोल एक्सइ भेरियन्ट किन्न चाहने ग्राहकले १७ लाख ७७ हजार ५०० रुपैयाँ बैंक कर्जाको सुविधा पाउने छन् भने मासिक किस्ता ३० हजार ४३५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीको सबैभन्दा महंगो मोडल किन्न चाहने ग्राहकले २४ लाख ४९ हजार ५०० रुपैयाँ कर्जा लिएर ७ वर्षसम्म मासिक ४१ हजार ९४१ रुपैयाँका दरले किस्ता भुक्तानी गर्नु पर्ने हुन्छ ।

४. फोर्ड इकोस्पोर्ट

फोर्डले इकोस्पोर्टलाई विभिन्न ८ भेरियन्टमा बिक्री गर्दै आएको छ । जिओ फोर्डले नेपालमा बिक्री गर्ने इकोस्पोर्टको सबैभन्दा सस्तो मोडल पेट्रोल इन्जिनयुक्त एम्बीयन्ट हो । यसको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ट्रेन्ड भेरियन्टको मूल्य ३८ लाख ९९ हजार, टाइटेनियम भेरियन्टको ४३ लाख ९० हजार, थन्डर भेरियन्टको ४७ लाख ४० हजार र टाइटेनियम अटोमेटिकको ४९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

डिजेल इन्जिनयुक्त ट्रेन्डको मूल्य ४२ लाख ९० हजार, टाइटेनियमको ४७ लाख ९० हजार र टाइटेनियम प्लस स्पोर्टसको ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

इकोस्पोर्ट एम्बीयन्ट किन्न चाहनेले १७ लाख ९५ हजार रुपैयाँ कर्जा लिन सक्ने छन् भने त्यस वापतको मासिक किस्ता ३० हजार ७३४ रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै यसको टप भेरियन्ट किन्न चाहने ग्राहकले २८ लाख ४९ हजार ५०० रुपैयाँ कर्जा लिन सक्ने छन् भने मासिक किस्ता ४८ हजार ७९० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

५. महिन्द्रा एक्सयूभी ३००
महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेटले एक्सयूभी ३०० लाई ८ भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको पेट्रोल भेरियन्टमा डब्ल्यू ४ भेरियन्टको मूल्य ३९ लाख ७५ हजार, डब्ल्यू ६ भेरियन्टको ४३ लाख ७५ हजार, डब्ल्यू ८ भेरियन्टको ५० लाख ७५ हजार र डब्ल्यू ८ अप्सनल भेरियन्टको ५६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी डिजेल इन्जिनयुक्त डब्ल्यू ४ भेरियन्टको ४१ लाख २५ हजार, डब्ल्यू ६ भेरियन्टको ४५ लाख, डब्ल्यू ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्ल्यू ८ अप्सनलको ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

महिन्द्रा एक्सयूभी ३०० को सुरुवाति भेरियन्ट किन्न चाहनेले १९ लाख ८७ हजार ५०० रुपैयाँसम्म कर्जा लिन सक्ने छन् भने मासिक किस्ता ३४ हजार ३० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

त्यसैगरी यसको टप भेरियन्ट किन्न चाहनेले २८ लाख ६२ हजार ५०० रुपैयाँसम्म कर्जा दिन सक्ने छन् भने मासिक किस्ता ४९ हजार १२ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

आफुले चाहेको भेरियन्टको मासिक किस्ता निकाल्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top