काठमाडौं । आयात प्रतिबन्ध कारण चल्तीका साना एसयूभीको विक्रीमा उच्च गिरावट आएको छ । सन् २०२१ मा आयात भएका र २०२२ को सुरुवातमा एलसी खोलेर नेपाल मगाइएका गाडीले दशैं–तिहारको सिजनमा ग्राहकको माग धाने ।
विद्युतीय कारको बजारमा नेक्सन ईभी, कोना ईभी, बीवाइडी ई सिक्स जस्ता मोडलले ग्राहक पाए भने नेटा भी नेपाल आएर ग्राहकको मन जित्न सफल भयो । तर, कम्बस्चन इन्जिन भएका गाडी सन् २०२२ को पहिलो क्वाटरबाटै आयात प्रतिबन्ध लागेको कारण धेरै आयात हुन सकेन ।
लामो आयात प्रतिवन्ध, बजारमा लगानी योग्य रकमको अभाव, ग्राहकलाई परेको मनोवैज्ञानिक दवावका बीचपनि चल्तीका ब्राण्डले साना सब फोर मिटर एसयूभी केही यूनिट विक्री गर्न सफल भए । सन् २०२२ मा किया सोनेट, मारुती सुजुकी ब्रेजा, निसान म्याग्नाइट, हुन्डाई भेन्यू र टाटा नेक्सनको आयात संतोषजनक छैन ।
अघिल्ला वर्षहरुमा जस्तो ठूलो परिमाणमा बजार पाउन नसकेपनि यी एसयूभी किन्न गाडीका शोरुम गएका ग्राहक रित्तोहात फर्कनु भने परेन । कम्पनीहरुले ग्राहकको माग अनुसार साना एसयूभी दिएका थिए ।
किया सोनेट
आयात प्रतिबन्धमा सबैभन्दा धेरै आयात भएको मोडल किया सोनेट हो । कम्पनी सन् २०२२ मा ५२७ यूनिट सोनेट नेपाल ल्याएको छ । निकै एग्रेसीभ लुक्समा तयार भएको सोनेट नेपाल आएदेखि नै राम्रो विक्री हुँदै आएको मोडल हो ।

सोनेटमा सुरक्षको लागि सिटवेल्ट वार्निङ, इबीडी सहितको एबीएस, ब्रेक एसिस्ट जस्ता फिचर यसमा रहेको छ । साथै, इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, स्पीड सेन्सीङ डोर लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर पनि पाउन सकिन्छ ।
आरामदायी यात्राको लागि एसयूभीमा म्यानुयल एसी, हिटर, रियर पार्किङ सेन्सर, हेडलाइट र इग्नीसन अन रिमाइन्डर, स्टेरिङ एड्जस्टमेन्ट जस्ता फिचर छन् । फेब्रिक सिट, प्यासेन्जर बेन्च सिट, कालो कलरमा सिंगल टोन इन्टेरियर, कप होल्डर, पावर विन्डो दिइएको छ । यसमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन पाउन सकिन्छ ।
मारुती सुजुकी ब्रेजा
सन् २०२१ मा करिब २ हजार यूनिट आयात भएको ब्रेजा २०२२ मा ७५ प्रतिशतले आयात घटेको मोडल हो । सिजी मोटोकर्पले सन् २०२२ को ११ महिनामा ४३५ यूनिट ब्रेजा आयात गरेको देखिन्छ ।

ब्रेजामा १.५ लिटर पेट्रोल इन्जिन रहेको छ । यसमा दिएको १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
माइलेको कारण पनि ब्रेजा सफल मोडल बनेको हो । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।
धेरै विक्री हुनुको अर्को कारण परम्परागत डिजाइनमा तयार भएर पनि बक्सी लुक्स यो एसयूभीको सबल पक्ष हो । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।
म्याग्नाइट
निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले सन् २०२१ मा १५ सय यूनिट म्याग्नाइट नेपाल ल्याएको थियो । तर, सन् २०२२ मा ७५ प्रतिशतले आयात खुम्चेर ४१४ यूनिट मात्रै आयात भएको देखिन्छ ।

सानो इन्जिन, कम मूल्य र बोल्ड डिजाइनको कारण धेरैले म्याग्नाइट मनपराएका थिए । तर, सरकारले लगाएको आयात प्रतिबन्धको असर म्याग्नाइटमा पनि परेको देखियो । म्याग्नाइटमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो इन्जिन दिइएको छ । ५ स्पीड म्यानुयल र सेग्मेन्टमा नै पहिलो एक्स–ट्रोनीक सिभिटी गियरबक्स म्याग्नाइटमा उपलब्ध छ ।
माथिल्ला भेरियन्टमा ७ इन्चको कलर टिएफटी इन्फर्मेशन डिस्प्ले, एराउन्ड भ्यू मिरर, ५ मिटरको टर्निङ रेडियस, अगाडि र पछाडिको बीचमा प्रसस्त स्पेश, उत्कृष्ट ड्राइभर भिजिविलिटी एङ्गलको कारण निसान म्याग्नाइट राम्रो मानिएको हो ।
भेहिकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, ट्रायाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट, ३६० डिग्री क्यामेरा, निसान कनेक्ट फिचर जस्ता सुरक्षा र मनोरञ्जनमा प्रयोग हुने फिचरहरु प्रिमियम भेरियन्टमा पाउन सकिन्छ ।
टाटा नेक्सन
टाटाले सन् २०२२ को ११ महिनामा २७२ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन नेपाल ल्याएको छ । नेक्सनले ग्लोवल एनक्याप रेटिङमा ५ स्टार पाएपछि यसको विक्री बढ्दै गएको हो । सिप्रदी ट्रेडिङले अहिले नेक्सन ईभी राम्रो संख्यामा विक्री गर्दै आएको छ ।

यूनिक डिजाइन, सहज ह्याण्डलिङ, राइड क्वालीटी र यसमा उपलब्ध फिचरको कारण नेक्सन धेरै विक्री हुने मोडलमा परेको हो । टाटाले पेट्रोल १.२ लिटर इन्जिनमै टर्बो चार्ज्ड दिएर यसको पावरलाई अन्यको तुलनामा उत्कृष्ट बनाएको छ । टाटाको १.२ लिटरको टर्बो पेट्रोल इन्जिनले १२० पीएस पावर र १७० एनएम टर्क प्रदान गर्छ ।
यसमा रहेको फिचर र टेक्नोलोजी पनि उत्कृष्ट छ । नेक्सन फिचर लोडेड कार हो । यसको बेस भेरियन्ट मै प्रोजेक्टेर हेडल्याम्प तथा डेटाइम रनिङ लाइट पाउन सकिन्छ । अन्य भेरियन्टमा हर्मन साउण्ड सिस्टम, अल पावर विण्डो, सनरुफ तथा क्रुज कन्ट्रोल जस्ता आधुनिक फिचरहरु रहेका छन् ।
हुन्डाई भेन्यू
क्रेटा किन्न चाहने धेरै मानिसले भेन्यू किनेको देखियो । क्रेटाको सप्लाईमा समस्या हुँदा सन् २०२१ देखि नै भेन्यूको आयात बढाएको लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिले पनि ग्राहकलाई सहजै दिन सकेको मोडल भेन्यू हो ।

सन् २०२२ को ११ महिनामा भेन्यूको आयात २३७ यूनिट भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । सब फोर मिटर साइज र आवश्यकता अनुसार फिचर पाइने भएको कारण भेन्यूले सफलता पाएको हो । हुन्डाई भेन्यूमा रहेको १.० एल कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ७ डीसीटी, आइएमटी र म्यानुयल गियरबक्स रहेको छ ।
नेपालमा सबैभन्दा बढी रुचाइएको भेन्यू नेचुरल्ली एस्पीरेटेड १.२ लिटर पेट्रोल इन्जिन भएको मोडल हो । उक्त इनिजनले ८३ पीएस पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ ।
भेन्युको टप भेरियन्टमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु पाइन्छ । साथै यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । भेन्यू भारतमा बनेको पहिलो स्मार्ट कनेक्टेड फिचर भएको गाडी हो । यसमा कम्पनीको ब्लु लिंक टेक्नोलोजी प्रयोग गरिएको छ ।


