काठमाडौं । काठमाडौं महानगरपालीकाले महानगर भित्र विभिन्न पेसा ब्यवसाय संचालन गरेर बसेका कम्पनी तथा फर्महरुले राखेका ३० वर्ग फिटभन्दा ठूला बोर्डहरु हटाउन निर्देशन दिदै आएको छ ।
पटक पटक ताकेता गर्दा पनि बोर्ड नहटाएको भन्दै महानगरले आज एक सूचना प्रकाशितगरी १५ दिन भित्र त्यस्ता बोर्डहरु राख्ने फर्म वा संस्थाले नहटाएमा महानगरले आफैँ हटाउने र त्यसवापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धीत संस्थाबाटै भराउने भएको छ ।
महानगरको सूचनापछि विशेषगरी उपत्यकामा चलाइएका गाडी तथा मोटरसाइकलका शोरुमहरुमा केही समस्या देखिएको छ । विभिन्न मल्टीनेशनल ब्राण्डहरुले आफ्नो शोरुममा राखेका बोर्डहरु हटाउनु पर्ने अवस्था आएको बताएका छन् ।
महानगरको टोलीले उपत्यकामा रहेका शोरुमहरु भिजिट गरेर साइज घटाउन भनेको ब्यवसायीहरु बताउँछन् ।
‘महानगरका कर्मचारी आएर बोर्ड ठूलो भयो घटाउनुस् भन्नु हुन्छ । हाम्रो मल्टीनेशनल कम्पनीको स्टायडर्ड अनुसार बनाइएको शोरुम कसरी भत्काउन सकिन्छ’, एक शोरुम संचालकले भने ।
महानगरले प्रकाशित गरेको सूचनामा प्रस्टसँग ३० वर्ग फिटभन्दा माथि साइजको राख्न नपाउने उल्लेख गरेको छ । सूचनामा बोर्ड राख्दा तिर्नु पर्ने शुल्क पनि खुलाइएको छ । ६ वर्ग फिटसम्म ५०० रुपैयाँ वार्षिक तिर्नु पर्छ भने १५ वर्ग फिटसम्मको १५०० र त्योभन्दा माथि ३० वर्ग फिटसम्मको जति वर्ग फिट छ त्यति नै हजार लाग्ने उल्लेख छ ।



