काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक बिस्तार सुरु भएको १९ महिना पुरा भएको छ । १९ महिनाको अवधिमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
बिक्रम सम्बत २०७९ मंसिरबाट निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १९ महिनामा २५ प्रतिशत मात्रै भएको देखिन्छ ।
आठ अर्ब ५२ करोड लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको आयोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर लामो सडकखण्ड निर्माण सम्पन्न हुँदा दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको हुनेछ ।
ठेक्का लगाउँदा ३६ महिनाको अवधि तोकिएको तर अहिलेसम्म १९ महिना वित्दा पनि २५ प्रतिशत मात्रै प्रगति भएको कारण समयमा नै निर्माण सम्पन्न हुन सक्ने देखिदैन । त्यसको मुख्य कारण सरकारले बजेट नदिनुलाई लिइन्छ ।
बहुवर्षिय ठेक्का आयोजनाको रुपमा काम अगाडि बढाइएको उक्त सडकखण्ड बिस्तारमा सरकारले प्रयाप्त बजेट दिन सकेको छैन । आगामी आर्थिक वर्षको लागि पनि ५४ करोड रुपैयाँ मात्रै छुट्टाइएको छ ।
तीनवटा ठेकेदार कम्पनीमार्फत यो सडकखण्ड विस्तार भइरहेको छ । जसमा सूर्यविनायक–साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का दिइएको हो ।
सडक विभागका अनुसार सूर्यविनायक-साँगासम्मको ठेक्का मंसिर ०७९, साँगा-धुलिखेलसम्मको ठेक्का पुस ०७९ र पुल निर्माणको ठेक्का चैत ०७९ मा लगाइएको थियो ।
अहिले सडक विस्तारमा देखिएको सुस्तताले दैनिक लाखौँ मानिसले सास्ती खेपिरहेका छन् । झनै बर्खा सुरु भएसँगै सडक विस्तारका क्रममा हुने सडक अवरोधका कारण अत्यधिक जाम व्यहोर्न बाध्य छन् । अहिले उक्त सडकमा कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने, जग्गा अधिग्रहण गर्नेलगायत काम निर्माण कम्पनीले गरिरहेको छ ।