काठमाडौं । भारतमा निर्मित एसयूभीहरु भारतीय बजारमा मात्र नभई अन्य देशहरुमा समेत निर्यात हुने गरेको छ । यस्तोमा नेपाली बजार अलग हुन सक्ने कुरै भएन । त्यसैले हामीले अगष्ट महिनामा भारतमा सर्वाधिक विक्री हुने एसयूभीको वारेमा जानकारी दिने प्रयास गरेका छौं ।
भारतबाट नेपाल आउने गाडीहरुको भविष्य भारतीय बजारमा कस्तो विक्री भइरहेको छ भन्ने विषयले पनि केहि हदसम्म निर्धारण गर्छ । किनकी भारतमा प्लान्ट रहेका कम्पनीहरुले नेपालको बजार हेरेर गाडी उत्पादन गर्ने होइनन् ।
भारतीय बजारमा स्थापित अटो कम्पनीहरुको लागि नेपालको विक्री संख्या भारतको कुनै एक राज्य वरावरको पनि नहुन सक्छ । हुन्डाई मोटर्स सुरुमा भारतीय बजारमा प्रबेशगर्दा भारतीय बजारभन्दा पनि निर्यातलाई केन्द्रमा राखेर प्रबेश गरेको थियो ।
त्यस्तै, जीप इन्डियाले भारतलगायत राईट ह्याण्ड ड्राइभ गर्ने अन्य मुलुकहरुमा निर्यात गर्नको लागि भारतमा उत्पादन गर्ने गरेको छ ।
अन्य कम्पनीले पनि पहिलो प्राथमिकतामा भारतीय बजारलाई राखेर काम गरिरहेका छन् । उनिहरुको उत्पादन भारतलगायत केहि छिमेकी देशहरुमा निर्यात हुने गरेको छ ।
भारतको केरलामा भएको गत महिनाको बाढिको कारण अटोको ओभरअल सेल्समा कमि आएको बताईएको छ ।
मरुती सुजुकी भीटारा ब्रेजा

भारतमा सबभन्दा बढि यूनिट विक्रीहुने गाडी कम्पनी मारुती सुजूकीको एसयूभी विक्रीपनि ओभरअलमा घटेकाे छ । कम्पनीकाे भिटारा ब्रेजा गत वर्षको अगस्टमा १४ हजार ३९६ यूनिट विक्रीभएकोमा यस वर्षको सोही समयमा १३ हजार २७१ यूनीट मात्र विक्री भएको छ । जुन अघिल्लो वर्षको अगस्ट भन्दा १ हजार १२५ यूनिटले कम हो । तर यसवर्षको जुलाइमा भने १४ हजार १८१ यूनिट बिकेको थियो ।
हुन्डाई क्रेटा

नेपालमा एकदमै रुचाइएको हुन्डाईको क्रेटाले आफ्नो २०१७ को अगस्ट सेल्सको यूनीटलाई केहि संख्याले बढाउन सफल भएको छ । कम्पनीको अगस्टको विक्री १० हजार ३९४ रहेको छ, जुन गत अगस्टको सेल्स १० हजार १५८ यूनिट भन्दा २ प्रतिशतले बढि हो । यस वर्षको जुलाईमा भने १० हजार ४२३ यूनिट विक्री भएको थियो ।
फाेर्ड ईकोस्पोर्ट

फाेर्डको ईकोस्पोर्टले पनि गत वर्षको अगस्टको जतिकै विक्री यूनिट कायम राख्न सफल भएको छ । गत वर्षको अगस्टमा ४ हजार ४४४ यूनिट विक्री भएको ईकोस्पोर्ट, यस वर्षको अगस्टमा ४ हजार ४३५ यूनिट विक्री भएको छ । जुन गतवर्षको भन्दा जम्मा ९ यूनिट मात्रले कम हो । जुलाईमा भने यसको विक्री ४ हजार ४० यूनिट रहेको थियो ।
टोयोटाको फर्चुनर

जापानीज अटो जाइन्ट टोयोटाको फर्चूनरको सेल्स पनि गत अगस्टको दाँजोमा घटेको छ । गत अगस्टमा २ हजार ११६ यूनिट फर्चूनर विक्री भएकोमा यस वर्ष १ हजार ८१८ मात्र विक्री भएको छ । यो संख्या यसै बर्षको जुलाई तुलनामा पनि घटेको हो । यस वर्षको जुलाईको विक्री संख्या १ हजार ८५६ यूनिट रहेको थियो ।
जीप कम्पास

नेपाली बजारमा निकै चर्चामा रहेको अमेरिकन ब्रान्डको एसयूभी जीप कम्पास गत वर्षको अगस्टको तुलनामा ३५.५ प्रतिशतले विक्रीमा गिरावट आएको छ । सन् २०१७ को अगस्टमा २ हजार २० यूनिट कम्पास एसयूभीको विक्री भएकोमा २०१८ को सोही अवधिमा घटेर १ हजार ३०३ मा झरेको छ । यो गत वर्षको भन्दा ७१७ यूनिटले कम हो । तर, यस वर्षको जुलाईमा भन्दा अगस्टमा भने १०२ यूनिट कम्पासको विक्री बढेको छ ।
होन्डा डब्लुआरभी

होन्डा मोटर्स इन्डियाको कम्प्याट एसयूभी होन्डा डब्लुआरभीको बिक्रीपनि घढ्दो क्रममा देखिएको छ । गत बर्ष ५ हजार २०० यूनिट विक्री भएको डब्ल्युआरभी यस वर्षको अगस्टमा २ हजार ८२२ यूनिट मात्र विक्री भएको छ । जुन २०१७ अगस्टको भन्दा ४६ प्रतिशतले कम हो । यसवर्षको जुलाईको तुलनामा अगस्टमा समेत बिक्रीमा कमि आएको छ । जुलाईमा यसको विक्री ३ हजार ३८६ रहेको थियो ।
महिन्द्रा एसयूभीहरु

भारतीय एसयूभी निर्माण एक्पर्ट महिन्द्राको पनि ओभरअल एसयूभी विक्रीमा एक प्रतिशतले ह्रास आएको छ । गत बर्ष अगस्ट महिनामा कुल १७ हजार ६०९ यूनिट एसयूभी विक्री गरेको कम्पनीले यस वर्षको सोही अवधिमा १७ हजार ३६८ यूनिट विक्रीगरेको छ । जनु गत वर्षको भन्दा २४१ यूनिटले कम हो । महिन्द्राको जुलाई सेल्स १७ हजार ३१० रहेको थियो ।
रेनो डस्टर

भारतीय बजारमा एक पटक धुम मचाउन सफल रेनोको डस्टरको विक्री पनि निकै खस्किएको छ । गत वर्षको अगस्टमा १ हजार ४०२ यूनिट विक्री भएको डस्टर यस वर्ष जम्मा ६१३ यूनिट मात्र विक्री भएको छ । जुन अघिल्लो वर्षको दाँजोमा ५६ प्रतिशतले कम हो । यहि वर्षको जुलाईको दाँजोमा भने अगस्टको विक्रीमा केहि बृद्धि भएको छ । जुलाईको सेल्स ५८७ यूनिट रहेको थियो ।
निशान टेरानो

जापनीज ब्रान्ड निशानको भारतीय बजारको पर्फमेन्स त्यति राम्रो रहेको छैन । यस वर्षको अगस्टमा जम्मा ७१ यूनिट मात्र निशानको टेरानो विक्री भएको छ । जुन गत वर्षको अगस्टको दाँजोमा २५६ यूनिटले कम हो । जुलाईमा अगस्टको भन्दा पनि कम ६५ यूनिट मात्र टेरानो विक्री भएको थियो ।
फोक्सवागेन टिगुवान

जर्मन अटो कम्पनी फक्वागेनको टिगुवानको सेल्स पनि यस वर्षको अगस्टमा घटेको छ । गत वर्षको अगस्टमा १६६ यूनिट विक्री भएको टिगुवान यस अगस्टमा १३० यूनिट मात्र विक्री भएको छ । टिगुवानको विक्री यसै वर्षको जुलाईको तुलनामा केहि संख्या बढि देखिन्छ । जुलाईमा यसको विक्री १२६ वटा रहेको थियो ।
यसै वर्ष लन्च भएको टाटाको नेक्सन र रेनो क्यापचर र स्कोडाको कोडियाकलाई माथिको अघिल्लो अगस्टसँगको कम्प्यारिजन लिस्टमा राखिएको छैन ।
नेक्सन, क्याप्चर र कोडियाकको यस वर्षको अगस्टको विक्री क्रमश ४ हजार ४९९, ३४९ र १३० यूनिट रहेको छ । नेक्सनको विक्री यसै वर्षको जुलाईको ३ हजार ८४० भन्दा अगस्टमा १७ प्रतिशतले बढि भएको छ ।
उता क्याप्चरको भने यसै वर्षको जुलाईमा ५१८ यूनिट विक्रीभन्दा अगस्टमा ३३ प्रतिशतले विक्री घटेको छ । त्यस्तै स्कोडाको कोडियाकको पनि जुलाईको १३५ यूनिट विक्रीभन्दा अगस्टमा ४ प्रतिशतले विक्री घटेको देखिन्छ ।


