कार बिक्रीमा होण्डालाई उछिन्यो सुजुकीले, यस्तो छ कारण

काठमाडौं । जापानी कार निर्माता होण्डा निकै ठूलो ब्राण्ड हो । विश्वभर होण्डाका कारहरू चल्तीमा छन् । तर, पहिलो पटक अर्को जापानी ब्राण्ड सुजुकीले होण्डालाई उछिनेको हो ।

सन् २०२५ मा सुजुकीले ३३ लाख २० हजार युनिट कार बिक्री गर्दा होण्डाले ३१ लाख ५० हजार युनिट मात्रै बिक्री गर्न सक्यो । यस अवधिमा सुजुकीले ग्लोबल सेल्स १.६ प्रतिशतले वृद्धि गर्दा होण्डाको बिक्रीमा २.१ प्रतिशतले गिरावट आयो ।

यी दुई ब्राण्ड बीचको प्रतिस्पर्धामा सुजुकीलाई भारतीय उत्पादनले साथ दियो । सुजुकीले निर्यात गर्ने कुल कारमा ७० प्रतिशत भारतमा उत्पादन भएको थियो । सुजुकीको कुल बिक्रीको ६० प्रतिशत कार भारतमै बिक्री हुन्छ ।

सन् २०२५ मा भारतीय अटोमोबाइल बजारको ४० प्रतिशत हिस्सा सुजुकीले लिन सफल भयो । तर, होण्डाको लागि चिनियाँ बजारमा सबैभन्दा धेरै बिक्री गुम्यो । सँगै, दक्षिण पूर्वी एशिया र अन्य केही बजारमा बिक्री घट्दा समग्र बिक्रीमै असर पर्यो ।

सुजुकीले भारतबाट सन् २०२५ मा ४ लाख ४७ हजार युनिट कार निर्यात गर्न सफल भयो । जुन सन् २०२४ को तुलनमा ३४ प्रतिशतले बढी हो । अहिले भारतमा उत्पादन भएको सुजुकी कारहरू विश्वका १०० भन्दा बढी देशमा निर्यात हुन्छ ।

सन् २०२६ को लक्ष्य अनुसार पनि सुजुकीले होण्डालाई उछिन्ने नै देखिन्छ । सुजुकीले ३५ लाख ५० हजार भेहिकल बिक्री गर्ने लक्ष्य राख्दा होण्डाले ३३ लाख ९० हजार युनिट कार बिक्री गर्ने सोचेको छ ।

होण्डा र सुजुकीको रेसमा निर्णयक बजार भारत बन्न पुगेको छ । भारतमा निरन्तर बिक्री गुमाउँदै गएको होण्डा र निरन्तर ठूलो संख्यामा बिक्री गर्दै आएको सुजुकीले उछिन्नुको मुख्य कारण नै भारत बनेको छ ।


Back_to_top