आयल निगमको आम्दानी ३.६६ खर्ब, नाफा साढे १३ अर्ब

काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँ बढी नाफा कमाएको छ ।

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३’ अनुसार निगमले गत आवमा १३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

निगमको गत आवमा कुल संचालन आय ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेका छ । निगमको सो आवमा प्रशासनिक खर्च १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

गत आवमा निगमको संचालन संचित नाफा १६ अर्ब ८६ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

गत फेब्रुअरी २८ देखि मध्यपूर्वमा युद्ध सुरु भएसँगै निगमले लगातार पेट्रोलियम पद्धार्थको मूल्य बढाउँदै आएको छ । सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । सो कोषमा रहेकोमध्ये करिब आधा रकम निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य वृद्धि नगर्न प्रयोग गरेको दाबी गर्दै आएको छ ।

घाटा थेग्न निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आव २०८२र८३ को अन्त्यसम्ममा पनि संचित नाफामा नै रहने प्रक्षेपण गरिएको छ ।


Back_to_top