काठमाडौं । चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवमा १३ वटा सडक तथा सुरुङमार्ग आयोजनाको प्रगति सुस्त देखिएको छ । खर्बौं लगानीका यी आयोजनाहरूले अपेक्षित प्रगति हासिल गर्न नसकेका हुन् ।
अर्थ मन्त्रालयले ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गर्दै राष्ट्रिय गौरवका सडक आयोजनाको फागुन मसान्तसम्मको प्रगति विवरण जानकारी गराएको हो ।
सार्वजनिक विवरण अनुसार चालु आवको फागुनसम्म राष्ट्रिय गौरव सडकहरूको १०० किलोमिटर बढी सडक कालोपत्र र थप २ दर्जन पुल निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय गौरवका केही सडक आयोजना निर्माण थालिएको डेढ दशक बित्दा समेत सम्पन्न हुन सकेका छैनन् । जसले एकातिर राज्यको लगानी बढाइरहेको छ भने, अर्कोतर्फ नागरिकले सास्ती पाइरहेका छन् ।
यस्तो छ चालु आवमा राष्ट्रिय गौरवका सडकमा भएको प्रगति
१. मध्यपहाडी (पुष्पलाल) लोकमार्ग : १ हजार ८७९ किलोमिटर मध्ये २०८२ असार मसान्तसम्म १ हजार ५१० किलोमिटर कालोपत्र भएकोमा चालु आवमा वर्षको फागुनसम्म थप १९ किलोमिटर सडक कालोपत्रे भई १ हजार ५२९ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८२ फागुनसम्म ११४ पुलको निर्माण सम्पन्न भएको छ ।
यो लोकमार्ग आव २०६४/६५ देखि सुरू गरिएको थियो भने आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरूआती लागत ३३ अर्ब ३६ अर्ब रहेकोमा बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७१ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ । यसको समग्र भौतिक प्रगति करिब ८३ प्रतिशत पुगेको छ ।
२. हुलाकी लोकमार्ग : १ हजार ८५७ किलोमिटरमध्ये २०८२ असारसम्म १ हजार ३५२ किलोमिटर (लिंक सडक सहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २९ किलोमिटर सडक कालोपत्रे भई १ हजार ३८१ किलोमिटर पुगेको छ । यस अन्तर्गतका २५० पुलमध्ये २०८२ फागुनसम्म १४३ पुलको निर्माण सम्पन्न भएको छ।

यो राजमार्ग आव २०६६/६७ देखि सुरू गरिएको थियो भने आव २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरूआती लागत ४७ अर्ब २४ अर्ब रहेकोमा बढेर १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७१ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ । यसको समग्र भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको छ ।
३. उत्तर-दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोर : कुल ४९५ किलोमिटर लामो यो सडक दुईखण्डमा विभाजन गरी काम भइरहेको छ । गैँडाकोट-राम्दी-मालढुङा खण्ड (२९३ किलोमिटर) सडकखण्ड मध्ये २०८२ फागुनसम्म २९२ किलोमिटर सडक कालोपत्रे तथा ३६ पुलको निर्माण सम्पन्न भएको छ ।
२०८२ असारसम्म मालढुङा-बेनी-जोमसोम-कोरला खण्ड (२०२ किलोमिटर) अन्तर्गत ८७ किलोमिटर सडक ग्राबेलमा स्तरोन्नति, ८१ किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरोन्नति र १५ पुलको निर्माण सम्पन्न भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म यस खण्डमा थप ६ किलोमिटर सडक कालोपत्रे भई २०८२ फागुनसम्म कालोपत्रे सडकको लम्बाई ८७ किलोमिटर पुगेको छ । साथै, यस अवधिसम्म १६ पुल निर्माण सम्पन्न भएको छ ।
आव २०६६/६७ देखि सुरू गरिएको थियो भने आव २०८३/८४ सम्म सम्पनन गर्ने लक्ष्य राखिएको छ । यसको लागत साढे ३० अर्ब रहेकोमा सवा २२ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ । यसको समग्र भौतिक प्रगति करिब ८५ प्रतिशत पुगेको छ ।
४. कर्णाली कोरिडोर : २६९ किलोमिटर लामो यो सडक २०८२ असारसम्म २६८.८ किलोमिटर ट्रयाक निर्माण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ०.२ किलोमिटर थप ट्रयाक निर्माण भई सम्पूर्ण ट्रयाक निर्माण सम्पन्न भएको छ ।

यस करिडोर अन्तर्गत हालसम्म ४१.५ किलोमिटर ग्राभेल सडकको निर्माण सम्पन्न भएको छ । २०८२ फागुनसम्म करिडोर अन्तर्गत लालिबगरदेखि दुल्लिकुना ११ किलोमिटर र घाटपारीचौर, बद्रिगाउँ देखि भुक्वाखोला खण्डको ७.९ किलोमिटर गरी १८.९ किलोमिटर नयाँ ट्रयाकको निर्माण सम्पन्न भएको छ ।
यो लोकमार्ग आव २०६९/७० देखि सुरू गरिएको थियो भने आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरूआती लागत २० अर्ब ६६ अर्ब रहेकोमा बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
५. काठमाडौं-तराई/मधेश द्रुतमार्ग : ७०.९७७ किमी लामो यो सडक अन्तर्गत रहेका जम्मा ७ सुरुङमध्ये २०८२ फागुनसम्म सबै सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन् । यस आयोजना अन्तर्गत निर्माण हुने पुलमध्ये २०८२ फागुनसम्म ८१ मिटर उचाइसम्मका पुलसमेत १३ पुलको सुपरस्ट्रक्चरसम्म, ५४ स्थानका पुलको फाउण्डेसनसम्म र ३४ स्थानका पुलको सबस्ट्रक्चरसम्मको निर्माण कार्य सम्पन्न भएको छ ।
आव २०७३/७४ देखि सुरू गरिएको यो सडक २०८३ चैत मसानत्सम्म सम्पन्न गर्ने लक्ष्य छ । २ खर्ब ११ अर्ब रुपैयाँ लागतको यो सडकमा हालसम्म ८२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । समग्र भौतिक प्रगति करिब ४८ प्रतिशत छ ।

६. सिद्धबाबा सुरुङमार्ग : २०८२ फागुनसम्म १ हजार १२६ मिटर मुख्य सुरुङको कंक्रिट लाइनिङ्को निर्माण कार्य सम्पन्न भएको छ। त्यसैगरी बाइपास सुरुङ पहिलोको १५१ मिटर लम्बाइ मध्ये १४८ मिटर, बाइ पास सुरुङ दोस्रोको १६१ मिटरमध्ये १५८ मिटर र बाइपास सुरुङ तेस्रोको १३० मिटरमध्ये १२८ फाइनल कंक्रिट लाइ निङको निर्माण कार्य सम्पन्न भएको छ।
हाल यो सुरुङमा बिजुली बत्ती, भेन्टिलेसन, पंखा, फायर फाइटिङ सिस्टम लगायत विद्युतीय उपकरण जडानको काम भइरहेको छ । आगामी असोजसम्म सुरुङमा गाडी गुडाउने लक्ष्य राखिएको छ ।
७. नागढुङा सुरुङमार्ग : यो सुरुङमार्ग निर्माणको काम सकिएको छ । लाइटिङ, भेन्टिलेसन, आगलागी नियन्त्रण, पावर सप्लाई तथा आन्तरिक सूचना प्रणालीसँग सम्बन्धित यन्त्ररउपकरणको जडान कार्य समेत सम्पन्न भएको छ । हाल भौतिक प्रगति ९९.५ प्रतिशत पुगेको छ । सुरुङको पश्चिम पार्टलतर्फ पहिरो नियन्त्रणको केही काम मात्रै बाँकी छ ।
साथै, सुरुङ संचालनका लागि सेवा प्रदायक कम्पनी छनोट गरी सम्झौता समेत भइसकेको छ । अहिले जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । यो सुरुङ यही जेठ अन्तिमदेखि परीक्षणको रूपमा र साउनदेखि व्यवसायिक रूपमा संचालनमा ल्याउने तयारी छ ।

८. कोशी कोरिडोर : १६२ किलोमिटर लामो कोशी करिडोर अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म थप १४ किलोमिटर सडक कालोपत्र भएको छ भने थप ११ पुलको निर्माण सम्पन्न भएको छ । २०८२ असारसम्म च्याम्ताङ-घोङघप्पा सडक खण्डको १०.५१ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ । यस खण्ड अन्तर्गत २०८२ फागुनसम्म ३.९ किलोमिटर सडक ग्राबेलमा स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ ।
९. मदन भण्डारी राजमार्ग : आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७४० किलोमिटर सडकमध्ये २०८२ असारसम्म ३६५ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म थप ३०.५ किलोमिटर सडक कालोपत्रे भई २०८२ फागुनसम्म ३९५.५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
यस राजमार्गमा पर्ने १८५ पुलमध्ये २०८२ असारसम्म १४४ पुल निर्माण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप एक गरी २०८२ फागुनसम्म १४५ पुलको निर्माण भएको छ ।
१०. गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक : कुल ८२ किलोमिटर मध्ये २०८२ असारसम्म ३९.० किलोमिटर दुई लेन सडक कालोपत्रे र २२ पुल निर्माण भएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म थप एक पुलको निर्माण भई २०८२ फागुनसम्म २३ पुल निर्माण भएका छन्।
११. नारायण-घाटबुटवल सडक : ११३ किलोमिटर लामो यो सडक २०८२ फागुनसम्म ९५.५ किलोमिटर सडक चार लेनमा र ७.५ किलोमिटर सडक दुई लेनमा कालोपत्रे भएको छ। यस सडक खण्ड अन्तर्गत २०८२ फागुनसम्म ४१ सामान्य पुल र २० मुख्य पुलको निर्माण भएको छ ।
११. कन्चनपुर-कमला सडक : ८७ किलोमिटर) अन्तर्गत २०८२ फागुनसम्म ४६.५ किलोमिटर ४ लेनमा र २०.८ किलोमिटर सडक २ लेनमा कालोपत्रे भएको छ।
१२. मुग्लिन-पोखरा सडक : ८०.३३ किलोमिटर लामो यो सडक फागुनसम्म ७८.४ किलोमिटर चार लेन सडकमा प्रथम तहको कालोपत्र भएको थियो । हाल पूर्वीखण्ड (आबुखैरेनी-जामुने) खण्ड निर्माण सम्पन्न भइ हस्तान्तरण समेत भइसकेको छ ।

जामुने-पोखरा खण्डको काम अन्तिम चरणमा पुगेको छ । लगभग कालोपत्रको काम सकिएको छ । पुल निर्माण, पुलको मुखमा अप्रोच सडक निर्माण, रङरोगन, रेलिङ निर्माण लगायत काम बाँकी छ । आगामी साउनसम्ममा सबै काम सक्ने लक्ष्य छ ।


