मूल्य १ लाख फरक भएका भी स्ट्रोम २५० VS केटीएम २५० एड्भेन्चर, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । सुजुकीले नेपालमै मोटरसाइकल एसेम्बल सुरू गरेसँगै भी स्ट्रोम २५० को मूल्य समायोजन गरेको छ । सुजुकी मोटरसाइकलको नेपालका लािग आधिकारिक बिक्रेता भीजी अटोमोबाइलले १ लाख रुपैयाँ घटाएर भी स्ट्रोम २५० को बिक्री सुरू गरेको छ ।

योसँगै यो सेग्मेन्टमा प्रतिस्पर्धा झनै रोचक बन्ने देखिन्छ । यो सेग्मेन्टमा केटीएम २५० एड्भेन्चर उपलब्ध छ ।

यसअघि यी दुवै मोटरसाइकलको मूल्य लगभग समान रहेको थियो भने अब भी स्ट्रोम २५० केटीएमको तुलनामा निकै सस्तो पर्ने भएको छ ।

आज हामीले यी दुई मोटरसाइकल बीच रहेको तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

डिजाइन

एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएका दुवै मोटरसाइकल झट्ट हेर्दा निकै लोभलाग्दा छन् । सहरी बाटो होस् वा अफरोड दुवै ठाँउमा यात्रा गर्न उपयुक्त यी मोटरसाइकल लामो यात्रा गर्नेका लागि समेत राम्रो मानिन्छ ।

एड्भेन्चर टुरर डिजाइनमा भएका कारण यी दुवै मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स उच्च छ । यसले गर्दा अफरोडमा चलाउँदा कुनै समस्या हुँदैन । साथै, दुवैको ह्याण्डल पनि अपराइट पोजिशनमा छ, जसले गर्दा उठेर मोटरसाइकल (स्याडलिङ) चलाउन सहज हुन्छ ।

इन्जिन

केटीएम २५० एड्भेन्चर २४८ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ बीएच पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

सुजुकी भी स्ट्रोम २५० मा २४९ सीसी सिंगल सिलिण्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

इन्धन क्षमता र माइलेज

एड्भेन्चर टुरर मोटरसाइकलमा इन्धन क्षमता कति छ भन्ने विषय निकै महत्वपूर्ण हुन्छ । लामो यात्रा गर्न र अफरोड ट्रेलहरूमा चलाउन धेरै प्रयोग हुने भएको कारण यसमा धेरै इन्धन बोक्ने क्षमता दिइएको हुन्छ । केटीएमले यही कुरालाई मध्येनजर गर्दै १४.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ ।

त्यस्तै, सुजुकीले १२ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ । केटीएमले प्रतिलिटर ३५ किलोमिटर माइलेज दाबी गरेको छ भने, सुजुकीले ३८ किलोमिटर दाबी गरेको छ ।

डाइमेन्सन

केटीएम २५० एड्भेन्चर मोटरसाइकलको कुल तौल १७७ केजी रहेको छ । यसको लम्बाइ २१५४ एमएम, चौडाइ ९०० एमएम, उचाइ १२६३ एमएम रहेको छ । यो मोटरसाइकलको ह्वीलबेस १४३० एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र सिट हाइट ८५५ एमएम रहेको छ ।

त्यस्तै सुजुकी भी स्ट्रोम २५० को कुल तौल १६७ केजी रहेको छ । यसको लम्बाइ २१८० एमएम, चौडाइ ८८० एमएम, उचाइ १३५५ एमएम रहेको छ । यसमा ह्वील बेस १४४० एमएम, ग्राउण्ड क्लियरेन्स २०५ एमएम तथा सिट हाइट ८३५ एमएम छ ।

ह्वील/सस्पेन्सन/ब्रेक

यी दुवै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील र दुवै चक्कामा डिस्क ब्रेक रहेको छ ।

केटीएम २५० एड्भेन्चरको अगाडि डब्लूूपी एपेक्स ४३ एमएम ट्राभल यूएसडी फर्क र रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिइएको छ । त्यस्तै भी स्ट्रोम २५०को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ ।

अन्य फिचर

यी दुवै मोटरसाइकलमा सबै प्रकारका लाइटहरू एलईडी रहेका छन् । त्यस्तै यसमा पूर्णतः डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।

मूल्य

केटीएम २५० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ । हंशराज हुलासचन्दले बिक्री गर्ने केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । यसअघी ७ लाख रुपैयाँ तोकेर बिक्री हुँदै आएको भी स्ट्रोम २५० को मूल्य नेपालमै एसेम्बल सुरू भएसँगै ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top