स्वीफ्ट र ग्राण्ड आइटेन बीच रोचक प्रतिस्पर्धा, ईभीमा कुन पहिला ?

काठमाडौं । कुनै समय थियो, ‘बी’ सेग्मेन्ट ह्याचव्याक कारमा सुजुकी स्वीफ्ट र हुन्डाई ग्राण्ड आइटेन नियोस बीच गज्जप कै प्रतिस्पर्धा हुन्थ्यो । ‘ए’ सेग्मेन्टमा सेन्ट्रो र सेलेरियो जस्ता कारले निकै चर्चा पाए ।

त्यही सेग्मेन्टमा टाटाले टियागो मोडललाई नै प्रतिस्पर्धा गर्न उतारेको थियो । अहिले पनि भारतीय बजारमा यी तीनवटै कारको बिक्री निकै राम्रो संख्यामा हुँदै आएको छ । भारतमा सुजुकी स्वीफ्ट निरन्तर बेस्ट सेलिङ मोडल हो । हुन्डाई ग्राण्ड आइटेन नियोस र टाटा टियागो पेट्रोल कारको बिक्री भारतमा ठिकठाक छ ।

नेपाली बजारमा पेट्रोल कारको बिक्री सन्तोषजनक छैन । विगत तीन वर्ष अगाडिसम्म वार्षिक एक हजार युनिट माथि बिक्री हुने ग्राण्ड आइटेन अहिले ३/४ सयमा झरेको छ । स्वीफ्टको बिक्री पनि वार्षिक ६/७ सयबाट घटेर २ सय हाराहारीमा खुम्चेको छ ।

टाटा टियागोको कथा बेग्लैछ । टियागो पेट्रोलको बिक्री लगभग सून्य प्रायः छ । तर, ईभी मोडलको बिक्री भने राम्रो संख्यामा हुँदै आएको छ । अहिले पनि वार्षिक एक हजार युनिट हाराहारी टियागो ईभी बिक्री हुने अवस्था छ । अघिल्लो वर्ष त करिब १ हजार ७ सय युनिट टियागो बिक्री भएको थियो ।

बढ्दो ईभीको लोकप्रियतासँगै गाडी बिक्रेताहरुले एकपछि अर्को ईभी बजारमा ल्याए । कम मूल्यमा नै उत्कृष्ट मोडलहरु आउन थालेसँगै फ्यामली ह्याचव्याकको पहिचान बनाएका गाडी विस्तारै कमजोर बने ।

अहिले ह्याचव्याक सेग्मेन्टमा टाटा टियागो ईभीसँगै विलिङ विङ्गो, लीपमोटर टी-०३, डोङफेङ नामी जस्ता मोडल बजारमा उपलब्ध छन् । यी विद्युतीय कारहरु मूल्यका आधारमा ग्राण्ड आइटेन र स्वीफ्ट भन्दा निकै कम मूल्यमा किन्न पाइन्छ । साथै, फिचरको मामलामा पनि निकै अगाडि छन् । यी दुई कारको मूल्यमा बीवाइडी डल्फीन किन्न सकिन्छ ।

ड्राइभिङ कम्फर्ट, उच्च सुरक्षा फिचर, एडास फिचर, लग्जरी सिटहरु उपलब्ध चीनमा उत्पादन भएका साना कारले बजारमा निकै राम्रो प्रभाव परिरहेका छन् । यस्तोमा ग्राण्ड आइटेन र स्वीफ्ट जस्ता कारले नेपालमा आफ्नो भविष्य कसरी बनाउलान्, त्यो हेर्न भने अझै कुर्नु पर्ने अवस्था देखिन्छ ।

अझै बलियो मानिन्छन् ग्राण्ड आइटेन र स्वीफ्ट

यदि, तपाई पेट्रोल ह्याचव्याक किन्ने सोच्दै हुनुहुन्छ भने यी दुई कार नै तपाईको लागि सबैभन्दा उपयुक्त बिकल्प हो । यी दुबै गाडीले नेपालमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

उत्कृष्ट पर्फमेन्स, सहज मर्मत सुविधा, सहजै पार्टसको उपलब्धता र निकै राम्रो रिसेल भ्यालू पाइने भएको कारण पेट्रोल कार खोज्नेको रोजाईमा यी दुई मोडल पर्दै आएका छन् ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकेन्टिनेन्टल प्रालिले विभिन्न चार भेरियन्टमा ग्राण्ड आइटेन नियोस बिक्री गर्दै आएको छ । यसको सुरुवाती भेरियन्ट इराको मूल्य ३२ लाख ९६ हजार, मग्नाको मूल्य ३८ लाख ५६ हजार, स्पोटज् भेरियन्टको मूल्य ४० लाख ५६ हजार र अटोमोटीक भेरियन्टको मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

ग्राण्ड आइटेन नियोसको तुलनामा सुजुकी स्वीफ्टको मूल्य महंगो छ । सुजुकीको स्वीफ्टको सुरुवाती भेरियन्ट एलएक्सआइको मूल्य नै ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसपछि भिएक्सआईको मूल्य ४० लाख ९९ हजार, भिएक्सआई अप्सनलको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ छ ।

विभिन्न १० भेरियन्टमा स्वीफ्ट छनोट गर्न सकिन्छ । जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ छ । जेडएक्सआई प्लसको भेरियन्ट ४६ लाख ४९ हजार रुपैयाँ छ । यदि, ड्यूल टोन कलरमा जेडएक्सआई प्लस भेरियन्ट खरिद गर्ने हो भने ४६ लाख ७९ हजार तिर्नु पर्ने हुन्छ ।

त्यसैगरी भीएक्सआई एजीएसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ छ । भीएक्सआई (अप्सनल) एजीएसको ४७ लाख ९९ हजार रुपैयाँ छ । सुजुकी जेडएक्सआई एजीएसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सीजी मोटोकर्पले जेडएक्सआई प्लस एजीएसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टमा ड्यूल टोन किन्नेले ५२ लाख २९ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।

ईभीमा कुन पहिला ?

टियागो ईभीलाई भारत र नेपालमै धेरैले मन पराएका छन् । चल्तीका ह्याचव्याकलाई ईभीमा ल्याउँदा राम्रै प्रतिक्रिया पाएको कारण टाटाले एकपछि अर्को मोडल ईभीमा ल्यायो । अब हुन्डाईले पनि क्रेटा एसयूभी मार्फत पेट्रोल मोडललाई ईभीमा ल्याउन थालेको छ ।

यस्तोमा स्वीफ्ट र आइटेन बीचमा पहिला आइटेन नै ईभीमा आउने अनुमान गर्न सकिन्छ । हुन्डाईले २०२६ को अन्तिमसम्ममा भारतमा ह्याचव्याक ईभी मोडल सार्वजनिक गर्ने बताएको छ । सम्भवत आइटेनलाई नै ईभी मोडलमा ल्याउने छ । सुजुकी स्वीफ्टलाई ईभीमा ल्याउने विषय बाहिर आएको छैन ।


Back_to_top