अघि बढ्यो सार्वजनिक सवारीमा जीपीएस जडान प्रक्रिया, कार्यविधि बनाउन सुरू

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गर्ने प्रक्रिया अघि बढाएको छ ।

विभागले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्ने, दुर्घटनापछि खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, सवारी साधनको अवस्था थाहा पाउने लगायत उद्देश्यले जीपीएस जडान गर्न लागेको हो ।

विभागले २ वर्षअघि परीक्षणका रूपमा काठमाडौं-पोखरा र काठमाडौं-वीरगन्ज रुटमा चल्ने केही सवारी साधनमा जीपीएस जडान गरेको थियो । अब भने देशभर संचालन हुने सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिक सवारीमा जीपीएस जडानका लागि कार्यविधि बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले कार्यविधि बनाउन समिति गठन गरिसकिएको बताए । ‘सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न जीपीएस जडान गर्नुपर्छ । यो आजको आवश्यकता हो । सिमलताल घटना अध्ययन प्रतिवेदनले पनि जीपीएस जडान गर्न सुझाव दिएको छ,’ उनले भने, ‘जीपीएस जडान गर्न पहिला कार्यविधि बनाउनुपर्छ । कार्यविधि बनाउन समिति गठन गरी काम गरिरहेका छौं । समितिले काम थालिसकेको छ । चाँडै सक्छ ।’

उनले समितिले कार्यविधि तयार पारेपछि स्वीकृत गरी कार्यान्वयनमा लैजाने बताए । सरकारले यातायात व्यवसायीसँग सहकार्य गर्दै जीपीएस जडान गर्ने उनको भनाइ छ ।

‘सरकारले चाहेर मात्र सार्वजनिक सवारीमा जीपीएस गर्न सहज छैन । यातायात व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने हो । हालै व्यवसायीसँग छलफल समेत गरिसक्यौं,’ उनले भने । सार्वजनिक सवारी व्यवस्थापनमा जीपीएसले यातायात व्यवसायी र सरकार दुवैलाई फाइदा पुर्याउने उनको भनाइ छ ।

कार्यविधिमा उल्लेख गरिने मापदण्ड अनुसार जीपीएस जडान प्रक्रिया अघि बढाइने उनले बताए । ‘जीपीएस जडान कुन मोडलमा गर्ने ? खर्च कसको हुने, कति लाग्छ भन्ने सबै कार्यविधिमा तोकिन्छ । सोही अनुसार काम अघि बढ्छ,’ उनले भने । कार्यविधि अभावमा यसअघि जीपीएस जडान गरिएका सवारीसाधनलाई समेत ट्रयाकिङ गर्न नसकिएको उनले बताए ।

विभागले जीपीएस जडानसँगै सार्वजनिक साधनलाई डिजिटललाइज गर्ने, डिजिटल भुक्तानी, डिजिटल टिकट, यातायात सुरक्षा लगायत विषयमा पनि काम गरिरहेको महानिर्देशक पोखरले जानकारी दिए ।

सवारी साधनमा जीपीएस जडानपछि सवारी साधनलाई ट्र्याकिङ गर्न, सवारीको गति थाहा पाउनुका साथै सार्वजनिक यातायातका विकृति, लुटपाट, चोरी लगायतका आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको विश्वास छ ।

सरकारले प्रस्ताव गरेको ‘राष्ट्रिय यातायात नीति,२०८१’ मा पनि सार्वजनिक सवारीमा जीपीएस प्रणाली लागू गरिने उल्लेख छ ।

के हो जीपीएस सिस्टम ?

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्रयाकिङ लंगिच्युड/ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र तथ्यांक लिने प्रविधि हो । जीपीएसले पृथ्वीमा रहेको बिन्दुको देखाउँछ । यसैलाई ट्रयाकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ ।

ट्रयाकिङ मार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ । कुन सवारी सधन कुन ठाउँमा, कस्तो अवस्थामा छ, कति गतिमा कुदिरहेको छ सबै थाहा पाउन सकिन्छ ।

त्यस्तै, यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने, गाडीको अवस्था बारे अनलाइनबाटै हेर्न सक्छन् । साथै, सवारी साधनमा हुने चोरी, लुटपाट, दुव्र्यवहार जस्ता अपराधिक गतिविधिको पनि निगरानी गर्न सहयोग पुर्याउँछ ।


Back_to_top