लाइसेन्समा फेरि कोटा सिस्टम लागू

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाउन फेरि कोटा सिस्टम लागू भएको छ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको नयाँ ईडीएलभीआरएस प्रणालीमा देखिएको समस्या पूर्ण रूपमा समाधान नभएपछि यातायात व्यवस्था कार्यालयहरूले कोटा लागू गर्न थालेका हुन् ।

यसैक्रममा, यातायात व्यवस्था कार्यालय, राधेराधेले भाेलिदेखि लागू हुने गरी लाइसेन्समा कोटा लागू गरेको हो । कार्यालयले विभागको सिस्टममा समस्या कायमै रहेकाले सबैलाई सेवा प्रदान गर्न नसकिने भएकाले दैनिक कोटा तोकी सेवा प्रवाह गर्न लागिएको बताएको छ ।

कार्यालयका सूचना अधिकारी जीवन कुमार बस्नेतले भोलिदेखि दैनिक ५० वटा कोटा तोकी लाइसेन्सको लिखित परीक्षा संचालन गरिने बताए । उनले विभागको नयाँ अनलाइन प्रणाली पूर्ण रूपमा नचलेकाले आंशिक रूपमा सेवा प्रवाह गर्न कोटा तोकिएको बताए ।

हालसम्म ३२०० बढी आवेदन प्राप्त भइसकेकाले लिखित र ट्रायल सुचारु गर्न कोटा तोकिएको उनले बताए । यद्यपि, प्रणालीमा भएको अस्थिरताका कारण आंशिक रूपमा कोटा निर्धारण गरिएकोमा क्रमशः कोटा बढाइँदै लगिने उनले बताए । विभागको अनलाइन प्रणाली पूर्णरूपमा संचालनमा आएपछि कोटा सिस्टम हटाइने उनको भनाइ छ ।

‘विभागको नयाँ ईडीएलभीआरएसमा देखिएको समस्या पूरै समाधान भइसकेको छैन । हालसम्म हाम्रो कार्यालयमा मात्रै लाइसेन्सका ३२०० बढी आवेदन आइसके,’ उनले मेरोअटोसँग भने, ‘सबैलाई एकैपटक सेवा प्रदान गर्न सकिँदैन । सिस्टम पनि पूरै चलेको छैन । त्यसैले सेवाग्राहीको व्यवस्थापन र सहजताका लागि अहिले दैनिक ५० कोटा तोकिएको छ । क्रमशः बढाउँदै लैजान्छौं ।’

कार्यालयका अनुसार विभागको नयाँ प्रणालीमा प्राविधिक समस्याहरु अझै आइरहे पनि साउन २२ गतेदेखि आंशिक रूपमा सेवा प्रवाह गरिएको छ । हाल नयाँ तथा वर्ग थपको प्राप्त आवेदनहरु क्रमिक रूपमा परीक्षण कार्य अफिस भेरिफाइ सुरू गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट संचालन हुने लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अफिस भेरिफाइ भई सकेका सेवाग्राहीहरूले अनलाइन मार्फत नै राजश्व भुक्तानी गरी भोलि (भदौ २) देखि परीक्षा मिति लिनसक्ने कार्यालयले जनाएको छ ।


Back_to_top