मुगुमा पहिलो पटक सडक कालोपत्र गरिँदै, टेन्डर खुलाउने तयारी

काठमाडौं । नाग्मा-गमगढी-लाक्चालाग्ना सडक आयोजना अन्तर्गत मुगुको ताल्चा-गमगढी सडक कालोपत्र कालोपत्र गरिने भएको छ ।

कर्णाली प्रदेश योजना आयोगले वहुवर्षिय योजना अन्तर्गत ताल्चा-गमगढी सडक कालोपत्रको ठेक्का लगाउन सहमति प्रदान गरेको हो ।

आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त स्रोत सहमतिका आधारमा बहुवर्षीय ठेक्का स्वीकृत गरेको हो । मन्त्रालयले यो सडकका कालोपत्र गर्न कुल १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको हो ।

जसमा चालु आवमा  ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै आगामी आव २०८३/८४ मा ७ करोड र २०८४/८५ मा ४ करोड ९९ लाख रुपैयाँ बजेट उपलब्ध गराइने छ ।

मुगु जिल्ला भित्रको कुनै पनि सडक कालोपत्र गर्न लागिएको यो पहिलो पटक हो । मुगु राष्ट्रिय सडक संजालमा जोडिएकाे १३ वर्षा बिते पनि हालसम्म कच्ची र ग्राभेल सडक मात्र छ ।

पूर्वाधार विकास कार्यालय, मुगुका सूचना अधिकारी मनमोहनसिंह खड्काले ताल्चा-गमगडी सडकखण्ड कालोपत्रका लागि टेन्डर आह्वानको तयारी भइरहेको बताए ।

उनले हाल उक्त सडकको सर्भेका काम सकी स्टिमेटको काम भइरहेको जानकारी दिए । ‘प्रदेश सरकारको वहुवर्षीय ठेक्का मार्फत ताल्चा-गमगढी सडक कालोपत्र गर्न लागिएको हो । अहिले सर्भेको काम सकी इस्टिमेसन भइरहेको छ । अब दुईसाता भित्र सबै काम सकी टेन्डर आह्वान गरिन्छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार चालु आव भित्रै ठेक्का प्रक्रिया सम्पन्न भई काम सुरु हुनेछ । ताल्चा-गमगढी सडकको दूरी करिब ९ किलोमिटर छ । सो मध्ये स्रोत सहमति भएको १६ करोड बजेटले भ्याउने जति खण्डमा कालोपत्र गरिने उनले बताए । उक्त बजेटले करिब ३ किलोमिटर सडक स्तरोन्नति गर्न पुग्ने देखिएको सूचना अधिकारी खड्काले बताए ।

‘वहुवर्षीय योजना अनुसार ताल्चा-गमगढी सडकलाई १६ करोड बजेटको स्रोत सुनिश्चित भएको छ । यो रकमले सबै सडक  स्तरोन्नति गर्न पुग्दैन । करिब ३ किमी सडक कालोपत्र र ढलान गर्न पुग्ने अनुमान छ,’ उनले भने ।

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार यो सडक नालाबाहेक ७ मिटर फराकिलो कालोपत्र हुनेछ ।

ताल्चा-गमगढी सडक कालोपत्र भएपछि जिल्ला सदरमुकाम गमगढी र ताल्चा विमानस्थल बीचको आवागमन सहज हुने  र स्थानीयलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

सडक विभागले उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत नाग्मा-गमगढी-लाक्चालाग्ना सडक निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो । १८८ किमी लामो यो सडक हालसम्म ११० किमी ट्रयाक खोलिएको छ । कठिन भौगोलिक बनावट र बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको छैन ।


Back_to_top