काठमाडौं । विद्युतीय साधनको बिक्री बढेसँगै टाटा सबैभन्दा बढी गाडी बिक्री गर्ने प्यासेन्जर कार ब्राण्ड बनेको छ । टाटा मोटर्सको कुल आयातमा ईभीको हिस्सा ९५.८२ प्रतिशत रहेको भन्सार तथ्यांकमा देखिन्छ ।
टाटाले नेपालमा इलेक्ट्रीक प्यासेन्जर भेहिकलको बिक्री सुरु गरेसँगै सर्वाधिक बिक्री हुने ब्राण्ड बन्न सफल भएको थियो । त्यसमा पेट्रोलियम पदार्थबाट चल्ने कारमा आयात प्रतिबन्ध हुनु र ईभीलाई सरकारले नै प्रमोट गर्ने नीति लिँदा टाटाले आफ्नो बजार हिस्सामा छलाङ लगाएको हो ।
सन् २०२३ को जनवरीदेखि सेप्टेम्बर १५ तारिखसम्म आयात भएको गाडीलाई आधार मान्दा टाटाले १ हजार ६४९ यूनिट प्यासेन्जर कार नेपाल ल्याइसकेको छ । कम्पनीले आयात गरेको कारमा १ हजार ५८० यूनिट विद्युतीय हुँदा केवल ६९ यूनिट मात्रै पेट्रोलबाट चल्ने कार छन् ।
सिप्रदी ट्रेडिङले यस अवधिमा सबैभन्दा धेरै नेक्सन ईभी ल्याएको छ । कम्पनीले ९ महिनाभन्दा कम समयमा १ हजार १८० यूनिट नेक्सन ईभी आयात गरेको हो । कम्पनीको दोस्रो धेरै आयात भएको मोडल टिगोर ईभी छ । यस अवधिमा ३१६ यूनिट टिगोर ईभी आयात भएको देखिन्छ ।

नाडा अटो शोमा सार्वजनिक भएको टियागो ईभी सेप्टेम्बर १५ तारिखसम्ममा ९२ यूनिट आयात भएको छ । कम्पनीले अहिले टियागो ईभी ग्राहकलाई दिन सुरु गरिसकेको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात निकै कमजोर भएको छ । यस अवधिमा कम्पनीले ६९ यूनिट पेट्रोल कार ल्याएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा नेक्सन कै छ । कम्पनीले ४२ यूनिट नेक्सन ल्याउँदा अन्य मोडल केवल २७ यूनिट मात्रै आयात गरेको देखिन्छ ।
टाटाले ईभीको सहयोगमा अन्य प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी यूनिटले गाडी आयात गरेको छ । यस अवधिमा टाटालाई पच्छाउँदै दोस्रो स्थानमा रहेको हुन्डाईले ८८३ यूनिट मात्रै गाडी आयात गरेको देखिन्छ ।

