काठमाडौं । भारतको सबैभन्दा ठूलो कमर्सियल सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पहिलो पटक उत्पादन गरेको प्यासेन्जर कार इन्डिका र इन्डिगोको उत्पादन बन्द गर्ने भएको छ ।
कम्पनीले इन्डिका र इन्डिगो सेडान कारको प्लेटफर्म स्क्राप गर्ने भएको हो । इन्डिका र इन्डिगोको उत्पादन बन्द हुने टाटाका प्रवक्ताले पुष्टि गरेका छन् ।
कम्पनीले इन्डिका र इन्डिगोको बिक्री ज्यादै न्यून भएको र बजारमा प्रतिस्पर्धा गर्न धेरै मोडल आएकाले पुराना मोडल बन्दगर्ने निष्कर्षमा पुगेको हो । यद्यपी बजारमा चलिरहेका कारकालागि सेवा भने उपलब्ध गराइने टाटाले जनाएको छ । स्टकमा भएका केही कारहरु भने बिक्री हुने उत्तर भारतमा रहेको एक डिलरले जनाएको छ ।
टाटाले बदलेको समयानुकुल डिजाइन र बजारको आवश्यकता अनुसारको उत्पादन ल्याएकोले पुराना सवारीको उत्पादन बन्द गरिएको हो । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांक अनुसार टाटाका उक्त दुई मोडलको बिक्रीमा किन्नै गिरावट आएको छ ।
मार्च २०१८ मा सकिएको गत आर्थिक वर्षमा टाटा मोटर्सले १ लाख ८७ हजार ३ सय २१ कार बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत धेरै हो । आव २०१६÷१७मा टाटाले १ लाख ५३ हजार १ सय ५१ वटा प्यासेन्जर कार बिक्री गरेको थियो । टाटाको बिक्री बढाउन नेक्सन, हेक्जाका साथै ह्याचब्याक टियागोको महत्वपूर्ण योजदान रहेको छ ।
एसआइएएमका अनुसार टाटाले आव २०१८ मा २ हजार ५ सय ८३ वटा इन्डिका र १ हजार ७ सय ५६ वटा इन्डिगो बिक्री गरेको थियो । टाटाले दुई दशक अघि सन् १९९८ मा इन्डिका उत्पादन गरेको थियो जुन पूर्ण रुपमा भारतीय उत्पादन हो । इन्डिका भारतमा निक्कै मनपराइएको ब्रान्ड मध्येमा पर्छ । इन्डिका जस्तै नाम इन्डिगो राखेर टाटाले २००२ मा बजारमा ल्याएको थियो ।